पीएम कप : गण्डकीविरुद्ध कर्णालीको सहज जित

पीएम कप : गण्डकीविरुद्ध कर्णालीको सहज जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सहज जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले हराएको हो ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।

कर्णालीका लागि हिमान्सु शाहीले अर्धशतकीय पारी खेले । ६० बल खेलेका उनले ७ चौकाको सहयोगमा ६८ रन बनाए । त्यस्तै, विपीन रावलले ४९ रन जोड्दा राज शाह ३२ र हेमन्त ओलीले २९ रनको योगदान गरे ।

बलिङतर्फ गण्डकीका लागि विपीन खत्रीले सर्वाधिक ४ विकेट लिए । उनले यसअघिको खेलमा पनि ह्याट्रिकसहित ४ विकेट लिएका थिए । त्यस्तै, सुवास भण्डारीले एक विकेट झारे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

गण्डकीका लागि राहुल उपाध्यायले अर्धशतकीय पारी खेले । ६४ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै, अर्जुन कुमालले ४६ रन बनाउँदा विपीन खत्रीले ३२ रनको योगदान गरे ।

जितसँगै कर्णालीको दुई खेलबाट २ अंक भएको छ । पराजित गण्डकीको तीन खेलबाट २ अंक छ ।