कञ्चनपुरको खल्ला बन्यो बायोग्याँस नमुना बस्ती

कञ्चनपुरको खल्ला बन्यो बायोग्याँस नमुना बस्ती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ को खल्लालाई बायो ग्याँस नमुना बस्ती बनेको छ । भीमदत्त नगरपालिका र राष्ट्रिय ग्रामीण तथा वैकल्पिक ऊर्जा विकास केन्द्रको साझेदारीमा खल्लामा बायो ग्याँस प्लान्ट जडान गरिएको हो ।

खल्लाका ३२ घरधुरीमा बायो ग्याँस जडान गरिएको छ । बायो ग्याँस जडान भएपछि स्थानीयले दाउरा बाल्न छाडेका छन् । यस अघि उनीहरू दाउरा चुलो बाल्न दाउराको प्रयोग गर्दै आएका थिए ।

ब्रह्मदेव बजार उत्तरका तीन बस्तीमध्ये खल्लामा पहिलो पटक बायो ग्याँस जडान गरिएको छ । खल्ला बाहेक टुँडिखेल र मुसेट्टीमा पनि बायो ग्याँस जडान गर्ने गरी खल्लाबाट सुरु गरिएको छ । खल्ला, मुसेट्टीलाई दुर्गमबाट सुगम बनाउन लक्ष्य अनुसार बस्तीमा बायो ग्याँस जडान गरिएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताउनु भएको छ ।

भीमदत्त नगरपालिकाले बायो ग्याँस जडानका लागि सबै परिवारलाई २५ हजारका दरले अनुदान दिएको छ ।बायो ग्याँस जडान गरिएपछि स्थानीयलाई वनबाट दाउरा बोकेर खाना पकाउनु पर्ने बाध्यता हटेको छ । स्थानीय धन बहादुर बिकेले अहिले स्थानीयले बायोग्याँसबाट खाना पकाई रहेको बताएका छन् ।

खल्लामा बायो ग्याँस जडान भएपछि स्थानीले पशुपालन समेत गर्न थालेका छन् । बायोग्याँसका लागि चाहिने गोबरका लागि पशुपालन गर्न थालिएको छ ।