कांग्रेस केन्द्रीय समिति १३ गतेसम्मका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति १३ गतेसम्मका लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक माघ १३ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि पुस २७ गतेका लागि बोलाइएको बैठक भोलि मंगलवारसम्मका लागि स्थगित गरिएको थियो।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलवार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते मंगलवार दिनको १ बजे बस्ने भएको छ,’ सोमवार साँझ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको हो। यस बीचमा कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र सम्पूर्ण स्थानीय तहमा सरकारको कदमको विरोध गरिसकेको छ। माघ ८ मा वडा तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ।

कांग्रेसले औपचारिक रुपमा प्रतिनिधिसभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन। सभापति शेरबहादुर देउवा अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले नबोल्ने परम्परा रहेको बताउँदै आएका छन् भने उनी इतरका नेताहरुले अदालतलाई दबाव दिनुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनै पर्ने अडानमा रहेका छन्।