राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो सहुलियत कर्जा, कति छ व्याज ?

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो सहुलियत कर्जा, कति छ व्याज ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको छ । सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशत बिन्दुले ब्याज अनुदान दिन्छ । यस्तो कर्जा सबै वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने भए पनि राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा सस्तोमा प्राप्त गर्न सकिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशत छ । बैंकहरूले यस्ता उत्पादनशील कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत बिन्दुले थपेर ब्याजदर तय गर्छन् । सरकारले पाँच प्रतिशत बिन्दुले ब्याजदर अनुदान दिने भएकाले राष्ट्रिय वाणिज्य बैंकबाट ३.३३ प्रतिशतमा तोकिएका शीर्षकमा सहुलियत कर्जा प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए ।

सहुलियत कर्जा सुरुवात कार्यक्रममा बैंकका अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा दुई जनालाई सहुलियत कर्जा दिइएको छ । कार्यक्रम शुभारम्भको क्रममा बैंकका अध्यक्षसमेत रहेका सचिव गुरुङले सहुलियत कर्जा कार्यक्रमले उद्यम गर्न चाहने, नवीन सोच भएका युवाका लागि अवसर भएको बताए । ‘उद्यमशीलता विकासमार्फत अर्थतन्त्रमा रूपान्तरणका लागि सरकारले कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

पहिलो सहुलियत कर्जा काठमाडौं नैकापमा भीमप्रसाद अधिकारी र एक्मी इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययनरत छात्रा रजनी हायूलाई प्रदान गरिएको छ । अधिकारीले सात लाख रुपैयाँको शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गरेका हुन् । उनले क्याटरिङ व्यवसाय सञ्चालन गर्न ऋण लिएका थिए । त्यस्तै, लोपोन्मुख जातिकी छात्रा हायूलाई इन्जिनियरिङलाई पाँच लाख रुपैयाँको उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दिइएको हो ।