नेपालमा जन्मेकोमा खुशी हुँदो हो निर्मलाको हत्यारा !

नेपालमा जन्मेकोमा खुशी हुँदो हो निर्मलाको हत्यारा !

नेपाली हुनुमा गर्व नगर्ने र खुशी नहुने नेपाली सायदै कोही होलान् । हामी गर्व गर्छौ नेपाली भएकोमा र खुशी हुन्छौँ, नेपालमा जन्म लिएकोमा । गर्व गर्ने, गर्व गनुपर्ने र खुशी हुने विभिन्न कारणहरु छन् होलान् ।

अवस्था, परिस्थिति, धुँवा धुलो, महंगी, असुविधा, अभावका कुरा एकछिनलाई थाती राख्ने हो भने वीर पुर्खाहरुको देश, बुद्धको देश, सगरमाथाको देश, सुन्दर प्रकृतिको देश आदि  तपाईँ हाम्रा नेपाली हुनमा गर्व गर्ने र खुशी हुने केही कारणहरु हुन् ।

यी त तपाईँ हामी पौने तीन करोड नेपालीका सामान्य खुशीका विषय भए । यसबाहेक हिजोआज तपाईँ हामीभन्दा पनि नेपालमा जन्मेकोमा कोही सबैभन्दा बढी खुशी हुँदो हो त त्यो हो निर्मलाको बलात्कारी हत्यारा । उ खुशी हुँदो हो त्यस्तो राज्य प्रणाली भएको देशमा जन्मेकोमा जहाँ चेत गुमाएको न्यायालय, श्रवणशक्ति गुमाएको सरकार, सामर्थ्य गुमाएको राज्य संयन्त्र छ । 

उसले बेलाबेला हिसाब लगाउँदो हो यदि नेपालबाहेक अन्य कुनै देशमा यस्तो क्रुर र जघन्य अपराध गरेको हुँदो हो त कि त अहिलेसम्म फाँसीमा झुण्डी सकेको हुन्थ्यो । नभए पनि जिन्दगीभरका लागि जेलको चिसो छिँडीको यात्रा गरिसकेको हुँदा हो । त्यस्तो जघन्य अपराध गरेपछि पनि यसरी पाँच, पाँच महिनासम्म स्वतन्त्र भएर खुला वायुमण्डलमा सास लिन नपाउँदो हो ।

 ‘निर्मला’  सम्भवतः साउन ११ गते यता नेपालमा र नेपाली भएको ठाउँमा संसारभरि नै सञ्चारमाध्यमहरुमा  र आम मानिसले  सबैभन्दा बढी प्रयोग गरेको शव्द हो । निर्मला अर्थात् न्याय नपाएकी नारी  । निर्मला अर्थात न्याय माग्दा माग्दै मानसिक स्थिति गुमाउन पुगेका आमाबाबुकी स्वर्गीय छोरी ।  

योभन्दा पनि सरल वाक्यमा भन्दा समृद्ध नेपाल सुखी नेपाली नारा बनाइएको देशमा बलात्कारपछि विभत्स हत्या गरिएकी र न्याय नपाएकी पात्र हुन् निर्मला । यस अर्थमा निर्मला एउटा पात्र मात्र होइनन्, यस्ता अनेकौँ बलात्कार र हत्याको सिकार भएकी र न्याय नपाएका नारीहरुको प्रतिनिधि पात्र पनि हुन् ।

साउनको दोस्रो हप्तादेखि  आजसम्म सयौँ पटक सयौँ सञ्चारमाध्यमहरुको लागि हेडलाइन बनिन् निर्मला । हजारौँ कोणसभामा भाषणको शीर्षक बनिन् निर्मला । त्यसपछिका सयौं पटकको आन्दोनको नारा बनिन् निर्मला । यसबीचमा निर्मला हत्याकाण्डसँग जोडिएका कैयौँ रहस्यहबाट पर्दा खुल्यो । प्रहरी प्रशासनको लापर्वाही बाहिर आयो । कयौं छानबिन समितिहरु पनि बने, प्रतिवेदनहरु बाहिर आए । तर हत्यारालाई अझै कानुनको कठघरामा उभ्याउन सकिएन । 

गएको साउन १० गते साथीको घरमा जान्छु भनेर गएकी निर्मलाको शव भोलिपल्ट अर्थात् साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएको थियो । त्यसबेलादेखि निर्मला हत्याकाण्डका बारेमा कसले के लेख्यो र कसले के भन्यो चर्चा परिचर्चाहरु भए, बहसहरु भए । वाद प्रतिवादहरु भए । 

यी त भए अरुका कुरा । बलात्कारी पनि त यो संसारमै छ होला नि । उसले पनि त सुन्दो हो यी सबै समाचारहरु । पत्रपत्रिकाका, रेडियो र अनलाइनका हेडलाइनहरु ।  सामाजिक सञ्जालहरुमामा हुने गरेका बहसहरु । ध्यान दिएर सुन्दो  र पढ्दो हो । पटक–पटक एकपछि अर्को गठन गरिएका छानबिन समितिहरुको बारेमा र तिनीहरुले काल्पनिक तथा कथा शैलीमा लेखेका प्रतिवेदनहरुको बारेमा ।

कहिलेकाहीँ एक्लै पेट मिचीमिची हाँस्दो हो प्रहरीले नै नाटकीय शैलीमा नक्कली अपराधी खडा गरेको देखेर । कहिलेकाहीँ डराउँदो पनि हो देशैभरि गरिएका आन्दोलन र यो विषय मत्थर नभएको देखेर । तर उसलाई सबैभन्दा खुशी त त्यतिखेर लाग्दो हो जब स्वयम प्रधानमन्त्री नै सञ्चारमाध्यमहरुमा हत्यारा पत्ता लाग्न १० वर्ष पनि लाग्नसक्छ भन्ने अभिव्यक्ति दिनुहुन्छ र सोच्दो हो त्यसो भए कमसेकम १० वर्ष त ढुक्क छु । 

बेलाबेला गृहमन्त्रीलगायत सरकारका प्रतिनिधिहरुले चाँडै हत्यारा सार्वजनिक गर्छौँ भनेको पनि सुन्दो हो । त्यतिखेर मुटु अलिअलि ढुकढुक हुँदो हो । तर बारम्बार महिनौँसम्म त्यही भाषण जस्ताको त्यस्तै दोहर्‍याएको देख्दा मनमनै सोच्दो हो सायद चाँडै भनेको दशरपन्ध्र वर्ष नै हो की रु पत्रपत्रिकामा प्रहरी प्रशासनले दिने गरेको ‘अनुसन्धान अपराधीको नजिक’ भन्ने अभिव्यक्ति पढी एकछिन झस्किएर आफ्नो वरिपरि हेर्दो हो र त्यसपछि त्यस वाक्याशंलाई ‘जोक अफ् द डे’ मानेर मनमनै हाँस्दो हो ।   

सत्य डग्दैन र पाप धुरीबाट कराउँछ भनेझैं आशा गरौँ एक न एक दिन त अपराधी पक्कै सार्वजनिक होला । अथवा हत्यारा पत्ता नलाग्न पनि सक्छ भन्ने भनाईलाइ काट्ने बलियो तर्क नभएको अवस्थामा भविष्यको बारेमा भविष्यले नै जानोस् ।

तर सरकार र सरोकारवालाहरुलाई ढिला न्याय दिनु भनेको न्याय नदिनु बराबर हो भन्ने यथार्थ र आफ्नो असक्षमताको कारण अपराधीलाई कहिलेसम्म खुशी बनाउने रु भन्ने प्रश्नले भने कालान्तरसम्म घोचिरहनेछ । यो सामाग्री उज्यालो अनलाईनबाट लिईएको हो ।