कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो ल्याउँछौं, निःशुल्क लगाउँछौं : स्वास्थ्यमन्त्री त्रिपाठी

कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो ल्याउँछौं, निःशुल्क लगाउँछौं : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो नेपालमा ल्याउन सरकारी, राजनीतिक र व्यक्तिगत प्रयास भइरहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले खोप छिटो नेपाल भित्र्याउन सरकारीस्तर सँगसँगै व्यक्तिगत रूपमा समेत आफूले प्रयास गरिरहेको बताए ।

मैले व्यक्तिगत सम्बन्ध पनि प्रयोग गरिरहेको छु, मेरो व्यक्तिगत सम्बन्ध भएका राष्ट्रका व्यक्तिसँग भरपुर प्रयास गर्दै खोप छिटोभन्दा छिटो ल्याउने प्रक्रियामा छौं,’ उनले भने, ‘खोप अभियान पारदर्शी ढंगले सञ्चालन हुनेछ । विकृतिको आशंका विभिन्न सञ्चारमाध्यमबाट भइरहेको छ, त्यसलाई हामी झूटो सावित गर्छौं ।’

खोप कार्यक्रमलाई सरकारले अभियान र मिसनको रूपमा लिएको मन्त्री त्रिपाठीले बताए । ‘विश्वले नै खोपलाई प्राथमिकता दिइरहेको छ, हामीले पनि प्राथमिकता दिएका छौं,’ मन्त्री त्रिपाठीले भने ।

कोरोना विरुद्धको खोप जोखिममा रहेका र अग्रपंक्तिमा खटिएका जनशक्ति तथा ५५ वर्ष उमेर पुगेका नागरिकलाई शुरूमा दिइने उनले बताए । ‘खोप अभियान सञ्चालनका लागि कानूनी जटिलता समाप्त भइसकेका छन् । आर्थिक रूपले अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ,’ उनले भने, ‘ढुक्क हुनुस् खोप आउँछ, निश्चिन्त हुनुस्, खोप आउँछ । यसलाई निःशुल्क रूपमा नै लगाउने प्रतिवद्धता छ ।’