बादलमाथिको यात्रा : कसरी पुग्ने बाजुराको बडिमालिका ?

बादलमाथिको यात्रा : कसरी पुग्ने बाजुराको बडिमालिका ?

काठमाडौं : शान्त डाँडाकाडा, फराकिला चउर अनि सिमसिम पानी । वर्षात्मा रमाउँदै उकालो पदयात्रा गर्दा यी सब छिचोलेपछि देखिन्छ आकर्षक र मनमोहक दृश्य । बादल आफूभन्दा तल हुन्छ । कैलाशमाण्डु पुग्दा यस्तै हुन्छ अर्थात् बाजुराको बडिमालिकाको यसरी नै चर्चा हुन्छ । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका अहिले आकर्षक गन्तव्य बन्दै छ । जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्राको मौसम भने वर्षायाम हो ।

कसरी पुग्ने बडिमालिका ?
बडिमालिकामा व्यावसायिक पर्यटनको सुुरुवाती प्रवद्र्धन हुँदै छ । टानले प्रवद्र्धनात्मक टुरपछि नक्सा सार्वजनिक गरेको छ । बडिमालिकाको यात्रा ७ देखि ९ दिनसम्मको उपयुक्त हुन्छ ।

पहिलो दिन
लामो यात्रामा भएकाले काठमाडौंबाट हवाई मार्ग प्रयोग गरी धनगढी जानु उपयुक्त हुन्छ । धनगढीबाट ५ घन्टा सडक यात्रापछि डडेल्धुरामा पहिलो दिनको यात्रा पूरा हुन्छ ।

दोस्रो दिन
डडेल्धुराबाट डोटीको दिपायल, सिलगढी, अछामको साँफेबगर, बाजुराको मौरिया हुँदै जडंग्या पुग्न सकिन्छ । यहाँसम्म सडक यातायातको सुविधा छ । त्यसपछि पदयात्रा सुरु हुन्छ । जडंग्यामा दोस्रो दिनको यात्रा टुंगिन्छ ।

तेस्रो दिन
समुद्री सतहबाट १ हजार १६७ मिटर उचाइको जडंग्याबाट २ हजार ९ सय ९१ मिटरको करली चौरमा तेस्रो दिनको यात्रा टुंगिन्छ ।

चौथो दिन
चौथो दिन यात्रा अलिक कठिन छ । उकालो यात्रा र हिमाली उचाइतिर लागिन्छ । करलीचौरबाट बुढीगंगाको शिर भाग रक्तकुन्ड र दुधकुन्डको संगम त्रिवेणी पुगिन्छ । ३ हजार १३२ मिटरको देउराली छौपाटन, पारिपाटन हुँदै सोटापाटन पुगिन्छ । सोटापाटन ३ हजार ४०३ मिटरमा छ । फूलैफूलले ढाकेको पाटन हो यो । त्यसपछि ३ हजार ६ सय ३९ मिटर उचाइमा रहेको घोडापाटन, वीरबसौना हुँदैै ३ हजार ३ सय ६७ मिटर उचाइमा रहेको भित्ताछैना स्थान आइपुग्छ । यहाँबाट केही समयको पैदल यात्रापछि ३ हजार ८ सय ७० मिटर उचाइमा रहेको कालिकोट र बाजुरा जिल्लालाई जोड्ने त्रिवेणी पुगिन्छ ।

पाँचौँ दिन

पाँचौँ दिन यात्रु बडिमालिका पुग्छन् । छिनमै उज्यालो अनि छिनमै अन्धकार । काला पहाड र बादलको लुकामारी छिचोल्दै यात्रा अगाडि बढ्छ । त्रिवेणी क्षेत्र झट्ट हेर्दा तराईका फाँटजस्तै लाग्छ । त्रिवेणीबाट सीधै उकालो लागेपछि पुगिन्छ बडिमालिका । त्रिवेणीबाट लौरीविनायकमा पालिएका भेँडा, घोडा चरनका दृश्य अवलोकन गर्दै मन्दिरसम्मको यात्रा तय गर्न सकिन्छ । मन्दिर ४ हजार २ सय १४ मिटर उचाइमा छ ।

त्यसपछि पाँचौँ दिनमा बडिमालिका पुग्ने यात्रु सो दिन त्यहीँ बिताउँछन् । भोलिपल्ट सिलगडीतिर लागिन्छ । बडिमालिकाबाट दुई दिनमै डोटीको सिलगढी आइपुगिन्छ । त्यहाँबाट आठाैँ दिनमा धनगढी र नवौँ दिनमा काठमाडौं फिर्ता हुन सकिन्छ ।

कति खर्च लाग्छ ?
काठमाडौं–बडिमालिका यात्रा सम्पन्न गर्न प्रतियात्रु कम्तीमा ३० हजारदेखि ५० हजार रुपैयाँसम्म खर्च लाग्छ ।

साथमा के लैजाने ?
होटेल तथा आवास सुविधा नपुगेको स्थानमा कम्तीमा तीन दिन वास बस्नुपर्छ । त्यसकारण न्यानो कपडासहित टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, औषधि आफैँले बोक्नुपर्छ । यात्रा अवधिभर समूहबाट नछुट्टिन ग्रुप लिडरको निर्देशन मान्नुपर्छ । अधिक उचाइमा पुग्दा मद्यपान, धुमपान नगर्नु राम्रो मानिन्छ । बडिमालिका भरिया र स्थानीय पथप्रदर्शकविना पुग्न कठिन छ । खासगरी जंगलको बाटो हुँदै उकालो लाग्नुपर्ने भएकाले सडक यातायात टुंगिसकेपछिको यात्राका लागि भरिया र पथप्रदर्शक आवश्यक पर्छ ।

किन जाने बडिमालिका ?
सुदूरपश्चिमेलीको सबैभन्दा आस्थाको केन्द्र हो बडिमालिका । हरेक वर्ष जनैपूर्णिमामा विशेष मेला लाग्छ । सुदूरपश्चिका जिल्ला, कर्णाली क्षेत्रका स्थानीय र भारतबाट तिर्थालु पुग्छन् । सतीदेवीको कुम पतन भएको स्थानका रूपमा बडिमालिका मन्दिर स्थापनाको किंवदन्ती छ । यसबाहेक प्रकृतिको अपार देन यस यात्रामा देखिन्छ । पहाड उक्लेपछि देखिने फाँट, पाटन, चौँरी र भेँडापालनमा रमाइरहेका स्थानीयको जीवनशैली रोचक र मन फुरुंग बनाउने हुन्छ ।

बडिमालिकाबाट देखिने सूर्योदय अर्को आकर्षण हो । बडिमालिका यात्राका दौरान मन्दिर, जडीबुटी, वनस्पति, वन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरनासँग सामीप्यता मिल्छ । खासगरी प्रकृतिको खोज र अनुसन्धानमा रमाउन चाहनेहरू यस भेगको यात्रामा निस्कन सक्छन् ।

साभार : नयाँ पत्रिका