संघको निर्वाचनमा १८ पदका लागि तिन समुहका ५१ जनाको उम्मेद्वारी (सुची सहित)

संघको निर्वाचनमा १८ पदका लागि तिन समुहका ५१ जनाको उम्मेद्वारी (सुची सहित)


धनगढी : कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि तिन समुहले प्यानल सहित उम्मेद्वारी दर्ता गरेका छन । संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थीले प्यानल सहित उम्मेद्वारी दर्ता गराएका हुन । 

निर्वाचन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत यादब बहादुर भण्डारीका अनुसार मुख्य सात पदाधिकारी,  ११ जना सदस्यमा गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा ५१ जनाको उम्मेद्वारी परेको छ । 

संघका वर्तमान महासचिव रुपेश स्वार र कोषाध्यक्ष पुष्पराज कुवरको प्यानलले सवै १८ पदका लागि उम्मेद्वारी दर्ता गराएको छ भने सदस्य डिल्लिराज अवस्थीको प्यानलले दुई सदस्य बाहेकका अन्य १५ पदमा मात्रै उम्मेद्वारी दर्ता गराएको छ । 

महासचिव रुपेश स्वार नेतृत्वको प्यानलको उपाध्यक्ष उद्योग, बस्तुगत र वाणिज्यमा क्रमशः गजराज पाण्डे, टेक बहादुर खडका र अनिल कुमारले उम्मेद्वारी दर्ता गराएका छन भने महासचिवमा सुरेश पाण्डे, कोषाध्यक्षमा भिमराज ओझा, सचिवमा सुजित शर्माको उम्मेद्वारी परेको छ । 

यस्तै, सदस्यमा तिलक वोहरा, रुपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज वोहराले उम्मेद्वारी दिएका छन । 

संघका वर्तमान कोषध्यक्ष पुष्पराज कुवर नेतृत्वको प्यानलको उपाध्यक्ष उद्योगमा पुष्कर ओझा, उपाध्यक्ष (वाणिज्य) मा गगन केसी, उपाध्यक्ष (बस्तुगत) मा शिवराज कुवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्सालले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।  

सदस्यमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंहले उम्मेद्वारी दर्ता गराएका छन । 

संघका वर्तमान सदस्य डिल्लिराज अवस्थीको प्यानलबाट १८ सदस्यीय कार्य समितिका लागि १५ जनाले उम्मेद्वारी दिएका छन । 

उक्त प्यानलबाट तिन सदस्यमा उम्मेद्वारी परेको छैन । अवस्थीको प्यानलबाट उद्योगतर्फ उपाध्यक्षमा ईन्द्र सेठी, उपाध्यक्ष वाणिज्यतर्फ रामचन्द्र राना, उपाध्यक्ष वस्तुगतमा वासुदेव भट्ट, महासचिवमा नवराज रेग्मी, कोषाध्यक्षमा शैलेन्द्र श्रेष्ठ र सचिवमा जयराज न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन । 

सदस्यमा रोशन माढीकर्मी, गजेन्द्र खड्का, पदमराज पाठक, धुव्रराज कार्की, शंकर चौधरी, केशव कार्की, सरस्वती चौधरी र प्रमिला पाठकले उम्मेद्वारी दर्ता गराएका छन । 

निर्वाचन समितिले बुधवार साझँ साढे ५ बजे प्रकाशन गरेको उम्मेद्वारको सुचीमा ५४ पदका लागि ५१ जनाको उम्मेद्वारी परेको जनाएको छ । 

निर्वाचन समितिका अनुसार विहिवार पुस १९ गते उम्मेद्वार उपर उजुरी दिने तथा जाचबुझ गर्ने, २० गते ४ बजेसम्म उम्मेद्वारी फिर्ता गर्ने र २० गते साझँ साढे ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाश गर्ने कार्य तालिका छ । पुस २८ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने छ । 

यस्तै, प्यानल सहित उम्मेद्वारी दर्ता गराएका तिन वटै समुहले  आ–आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन । 
आफ्नो प्यानलले संघ र व्यावसायीको हक हितका लागि उम्मेद्वारी दर्ता गराएको भन्दै आफु जित्ने दावी गरेका हुन । 

पुस २८ गते हुने संघको निर्वाचनमा दुई हजार सात सय ४ जनाले मतदान गर्ने पाउँनेछन् । उम्मेद्वारी दर्तासगै तिन वटै प्यानल प्रचारप्रसारमा लागेका छन । 

यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता छानविनको विषयमा मुद्धा परेपछि स्थगित भएको थियो ।