आगामी आर्थिक वर्षका लागि शुक्रवार करिव २५ अर्वको बजेट ल्याउदै प्रदेश नम्बर ७ को सरकार

आगामी आर्थिक वर्षका लागि शुक्रवार करिव २५ अर्वको बजेट ल्याउदै प्रदेश नम्बर ७ को सरकार

धनगढी : प्रदेश नम्बर ७ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि शुक्रवार बजेट ल्याउदै छ ।

शुक्रवार दिउसो ३ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले करिव २५ अर्वको बजेट प्रस्तुत गर्नुहुने छ । बजेटको पूर्वसन्धयामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थ मन्त्रालयले तयारी पुरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री बोहराले आर्थिक बर्ष २०७५÷७६ का लागी २५ अरब सम्मको बजेट ल्याउन लागेको जानकारी दिनुभयोे । आगामी आर्थिक वर्षको बजेटमा महत्वाङ्क्षी योजना र कार्यक्रमलाई प्राथमिकता नदिएका कारण बजेट सजिलै कार्यान्वयन गर्न सकिने रहेको अर्थमन्त्रीको भनाई छ ।

बजेटले कृषि, पर्यटन, भौतिक निर्माण, स्वरोजगार, सामाजिक विकास सुरक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताईएको छ । प्रदेशमा स्वदेशी तथा विदेशी लगानीको उद्योग स्थापनार्थ प्रदेश सरकारले कर छुटमा नीतिगत व्यवस्था गरेको जनाइएको छ ।

उद्योग स्थापना बीना प्रदेशको समृद्धि असम्भव रहेकाले करमा छुट, बिजुली, पानी लगायतमा सहुलियत दिने नीतिगत व्यवस्था आगामि आर्थिक वर्षको बजेटमा गरिएको मन्त्री बोहराले बताउनुभयो। 

उद्योगमा लगानी, रोजगारी प्रदानको अवस्था र आयात प्रतिष्ठापनलाई आधार बनाएर कर छुटको नीतिगत व्यवस्था हुने उहाँको भनाइ रहेको छ । महिला, दलित, जनजाति, राजी, राउटे, पिछडिएका वर्गलाई राज्यको मुलप्रवाहीकरणमा ल्याउने प्रदेश सरकारको योजना अनुरुप सामाजिक सशक्तिकरणका लागि बजेट विनियोजन गरेको जनाइएको छ ।

सरकारले कृषिलाई बढी महत्व दिएका कारण ३ देखि ५ बर्ष भित्र ७ नम्बर प्रदेश कृषिमा आत्मनिर्भर हुने आर्थिक मामिला बोहराले बताउनु भयो। बजेट मुख्यत रुपमा प्रदेशको विकाश र सम्वृदिमा केन्द्रित रहेको अर्थमन्त्रालको दावी छ ।