कतै तपाईंको पासवर्ड लिक त भइरहेको छैन ? यसरी लिनुहोस् जानकारी

कतै तपाईंको पासवर्ड लिक त भइरहेको छैन ? यसरी लिनुहोस् जानकारी

 केही समय अघिमात्रै गुगलले इन्टरनेट ब्राउजर क्रोममा नयाँ फिचर सार्वजनिक गरेको थियो । जसले स्मार्टफोन प्रयोगकर्तालाई उनीहरुले अनलाइनमा प्रयोग गरेको पासवर्ड लिक भएको छ वा छैन भनी जानकारी दिन्छ ।

‘सेफ्टी चेक’ नामक उक्त फिचर क्रोमको ८६ औं अपडेटमा उपलब्ध भएको छ । तर, यो फिचरबारे हामी धेरै अनविज्ञ हुन सक्छौं । यो फिचर एन्ड्रोइड तथा आईओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ ।

त्यसरी तपाईंले प्रयोग गर्नुभएको पासवर्ड लिक भएको छ वा छैन भनी पत्ता लगाउनका लागि गुगलले विशेष खालको इन्क्रिप्सन प्रविधिको प्रयोग गरेको जनाएको छ । उक्त इन्क्रिप्सन प्रविधिमार्फत गुगलले तपाईंको युजर नेम र पासवर्ड कहीँ कतै लिक भएको त छैन भनी चेक गर्नेछ ।

तर, तपाईंलाई सुरुमा यो विषयको जानकारी लिन आवश्यक छ कि गुगलले तपाईंको सबै युजर नेम र पासवर्ड कपी गर्ने छैन । यसको अर्थ तपाईंले जुन युजर नेम र पासवर्ड गुगलमा सेभ गर्नुभएको छ त्यसमा मात्रै यो नियम लागू हुनेछ ।

यति पढेर यदि तपाईं आफूले प्रयोग गर्ने पासवर्ड कतै लिक त भएको छैन भनी जानकारी लिन चाहनुहुन्छ भने त्यसका लागि केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । त्यसबारे हामी यहाँ सिकाउँदै छौं ।

त्यसका लागि सुरुमा स्मार्टफोनमा गुगल क्रोम खोल्नुहोस् । गुगल क्रोम खुलेसँगै त्यसको दाँया साइडको माथि कुनामा रहेको थ्री डटमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गर्दा तपाईंले ‘सेटिङ’ भन्ने अप्सन देख्नुहुनेछ । सेटिङमा क्लिक गर्नुहोस् । सेटिङमा क्लिक गर्दा त्यहाँ ‘पासवर्ड’ भन्ने अप्सन देखिने छ । उक्त अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसको भित्र ‘चेक पासवर्ड’ भन्ने अप्सन रहेको छ । त्यसमा क्लिक गर्दा यदि तपाईंको पासवर्ड लिक भएको छ भने कुन पासवर्ड लिक भएको हो त्यसबारे जानकारी दिनेछ । यदि छैन भने ‘नो’ अर्थात छैन भनी जानकारी गुगलले दिनेछ ।