नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्रलाई, टोकियो ओलम्पिकमा छनोट

नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्रलाई, टोकियो ओलम्पिकमा छनोट

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई ऐतिहासिक गोल्ड मेडल विजेता गोपिचन्द्र पार्की टोकीयो ओलम्पिकका लागि छनोट भएका छन्। नेपालगन्ज म्याराथनको छैटौं संस्करणमा विजेता बनेसँगै उनले टोकियो ओलम्पीकमा स्थान पक्का गरेका हुन्।

ओलम्पिक छनोट प्रतियोगिताका रुपमा समेत रहेको नेपालगन्ज म्याराथन विभागीय टीम नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्कीले जितेका हुन्।

ओलम्पिकमा एथ्लेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जनाएका थिए। उनका अनुसार कोरोना महामारीका कारण थप प्रतियोगिताहरु नहुने भएकाले यहि प्रतियोगितालाई ओलम्पीक छनोटका रुपमा लिएको थियो।

शनिबार बिहान भएको म्याराथनमा सागमा ५ हजार मिटर दौडका स्वर्ण विजेता पार्कीले विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्णा बस्नेतलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । पार्कीले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे।

दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डको समय निकालेका थिए। त्यस्तै आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा दौड पुरा गरे। गतवर्षको विजेता आर्मीकै नवराज साउदले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा चौथो स्थान हासिल गरे। च्याम्पियन बनेका पार्कीले ७५ हजार हात पारे।

त्यस्तै, दोस्रो भएका बस्नेतले ३० हजार तथा तेस्रो भएको भाटले २० हजार हात पारे। नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउदले प्रतियोगिताको उपाधि जितेका थिए।