जनताको घरमा पुगेर कोरोना नियन्त्रणका लागि सांसदले जनचेतना फैलाउने

जनताको घरमा पुगेर कोरोना नियन्त्रणका लागि सांसदले जनचेतना फैलाउने

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ ।

कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाण्डौमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड(१९ को रोकथामका लागि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताउनुभएको हो ।

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहरुलाई परिचालन गरी गाउँ(गाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने बताउनुभएको छ । यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार हुने उहाँको भनाइ छ ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभइ जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराइ सङ्क्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलोमै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि सङ्क्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताउनुभयो । तर पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशत सम्म सङ्क्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताउनुभयो ।

अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा सङ्क्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उहाँले बताउनुभयो । सरकारले देशमा भएका स्वास्थ्य संरचनाहरुको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गर्नुभयो । सामर्थ्य अनुसार सङ्क्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उहाँको भनाइ छ । 

कोरोना सङ्क्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताउनुभयो । उहाँले अहिले पनि कुल सक्रिय संक्रमितहरु मध्ये ८० प्रतिशत होम आइसोलेशनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताउनुभयो ।

सरकारले अस्पतालहरुमा अक्सिजनसहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको उहाँको भनाइ छ । यस्तै विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएर प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्ने तर्फ सरकारले ध्यान केन्द्रीत गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताउनुभयो ।