नारायणहिटीभित्रको श्री सदन आइतबारदेखि सर्वसाधारणका लागि खुला हुने

नारायणहिटीभित्रको श्री सदन आइतबारदेखि सर्वसाधारणका लागि खुला हुने

तत्कालीन राजा वीरेन्द्रको निजी निवास  ‘श्री सदन’ आइतबारदेखि अवलोकनका लागि खुल्ला हुने भएको छ ।

नारायणहिटी दरबारभित्र रहेको उक्त सदनको शनिबार दिउँसो २ बजे पर्यटन मन्त्री योगेश भट्टराईले खुला भएको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । यो सदन आइतबारदेखि सर्वसाधारणका लागि खुला हुनेछ ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुती र छोरा नीराजन यही सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि यो सदन बन्द छ ।

आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुँदैछ ।

तत्कालीन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा बनाइएको श्री सदन तीन तलाको छ र यसमा १२ कोठा छन् । भुइँतलामा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय थियो । यही तलामा भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि छन् ।

श्री सदनको पहिलो तलामा वीरेन्द्र र ऐश्वर्यको सुत्ने कोठा छन् भने दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् ।

धेरै मानिसले यो सदन अवलोकन गर्न अभिरुचि देखाउने गरेका भए पनि त्यो अवसर पाएका थिएनन् ।

कोरोनाभाइरसको महामारी र संक्रमणलाई पनि विचार गरी सीमित संख्यामा मानिसलाई भित्र प्रवेश गर्न दिने योजना बनाइएको छ ।