सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका  ५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ३६ पुगेको हो । उनलाई कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा शुक्रबार दिउँसो मृत्य भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि नै अछाममा  २,  बैतडीमा १, बझाङ्गमा ३, बाजुरामा २, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा १, कैलाली १८ र कञ्चनपुर ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा विभिन्न ल्याबहरुमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमितको संख्या १ हजार ७७२ पुगेको छ । 

कैलालीका ३८, बैतडीका ३, बाजुराका १, डडेल्धुराका ५, दार्चुलाका १७ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कार्कीका अनुसार हालसम्म १ लाख १४ हजार ६३४  नमुना जाँच भएकामा १० हजार ६६९ जनामा संक्रमण फेला परेको छ  । त्यसमध्ये प्रदेशमा निको हुने संक्रमितको संख्या ८ हजार ८६१ रहेको छ ।