गौरीफन्टा नाका स्तरोन्नति र मैत्री बस सञ्चालन गर्न मुख्यमन्त्री योगी सकरात्मक

गौरीफन्टा नाका स्तरोन्नति र मैत्री बस सञ्चालन गर्न मुख्यमन्त्री योगी सकरात्मक

धनगढी : भारतको उत्तर प्रदेश प्रान्तका मुख्यमन्त्री योगी आदित्यनाथले कैलालीकोे गौरीफन्टा नाका स्तरोन्नति र नेपाल–भारत मैत्री बस सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागि कैलाली उद्योग वाणिज्य संघको टोलस्सग छलफल गर्दै उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको योगीले बताएका थिए । 

सो क्रममा मुख्यमन्त्री आदित्यनाथलाई गौरीफन्टा नाका स्तरोन्नति र नेपाल–भारत मैत्री बस सञ्चालनका लागि आग्रह गरिएको थियो । 

सो क्रममा आदित्यनाथले गौरीफन्टा नाका स्तरोन्नतिका आफु सकरात्मक रहेको र केही समयमै स्थलगत भ्रमण समेत गर्ने प्रतिवद्धता जनाएको छलफलमा सहभागि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शकर बोगटीले जानकारी दिए । 

कैलाली उद्योग वाणिज्य संघको टोलीमा कैलालीका यातायात व्यावसायीका प्रतिनिधि पनि सहभागि थिए । 

सो क्रममा आदित्यनाथलाई नेपाल–भारत मैत्री बस सञ्चालनको प्रस्ताव गरिएकोमा उनले सहजै स्वीकार गरेको र उक्त प्रदेशका मुख्य सचिवलाई कार्यान्वयमा लैजान निर्देशन दिएको संघका अध्यक्ष शकर बोगटीले बताए ।