६ घण्टा हिँडेरै सुन्तला बेच्न बजार आउँछन् बाजुराका किसान

६ घण्टा हिँडेरै सुन्तला बेच्न बजार आउँछन् बाजुराका किसान

बाजुरा : जाडो सुरु भएदेखि नै गौमुल गाउँपालिकाका किसानहरुलाई सुन्तला बेच्न भ्याइ नभ्याइ छ । यस वर्ष सुन्तला बाक्लो फल्दा यहाँका किसान खुसी त, भए तर बजारको अभावमा समस्या थपियो ।

गौमुलका जया सार्की नजिक बजार नहुँदा सुन्तला बेच्न ६ घण्टा पैदल हिँडेर सदरमुकाम मार्तडी पुगे । १५ बोट सुन्तलाबाट घर खर्च चलाउँदै आएका उनी सुन्तलाबाट सिजनमा ३० हजार आम्दानी गरेको बताउँछन् ।

बिहान ४ बजे नै घरबाट हिँडेर उज्यालो हुँदासम्म मार्तडी आइपुग्छन् । दिनभर सुन्तला विक्री गरेर साँझ ४ बजे घर फर्किने गरेको उनले सुनाए । जयाकै छिमेकी किशोरी रोकाया बुधबार बिहानै पिठ्यूँमा सुन्तलाको भारी बोकेर सदरमुकाम मार्तडीमा पुगिन् । उनी पनि दिनभर सुन्तला बेचेर बेलुका घर फर्कँदा झमक्क साँझ परिसकेको थियो ।
गौमुल गाउँपालिकाका उनीहरु जस्तै यहाँका अधिकांश किसान सिजनभर सुन्तला बेच्न कम्तिमा ६ घण्टा पैदल हिँडेर सदरमुकाम आइपुग्छन् ।