किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे

किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे

धनगढी । डडेल्धुरामा किशोरीलाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयले मारेका छन्। बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महताको ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको स्थानीयले बताएका छन्।

चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले सोमबार साँझ घेरा हालेर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेका हुन्।

अहिले घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएको छ।

टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गरि मारेको थियो। आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।