विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई तोकेको छ । प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्धक सञ्चालक रहेका उनलाई ऊर्जा मन्त्रीस्तरीय निर्णयबमोजिम मन्त्रालयले निमित्त कार्यकारी निर्देशक तोकिएको हो ।

गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उनलाई कम्पनीबाट प्राधिकरणमा काज फिर्ता गर्ने निर्णय गरेको थियो । शाक्यले आफूले मन्त्रालयबाट निमित्तको पत्र पाएको र आज सोमबार प्राधिकरणमा आफ्नो जिम्मेवारी संहाल्ने बताए ।

भदौ अन्तिम साताबाट कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणभित्र रहेकामध्ये बरिष्ठतमको आधारमा लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको थियो । कोइरालाभन्दा वरिष्ठ रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गरेर कायममुकामनै दिने चर्चा चले पनि निमित्तमात्र दिइएको हो ।

तर, आगामी प्राधिरकण सञ्चालक समितिको बैठकले उनलाई कायममुकाम दिन सक्ने र सो अनुरुप उनलाई फिर्ता बोलाएर निमित्तको जिम्मेवारी दिइएको हुन सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् । इन्जिनियरिङ कम्पनीमा काम गरिरहेका र प्राधिकरणमा कोइरालाले निमित्तको रुपमा सञ्चालन गरिरहेको बेला एक्कासी काज फिर्ता गरेर मन्त्रालयले निमित्त तोकेको छ ।

इन्जिनियरिङ कम्पनीलाई सफलतापूर्वक काम गरेका उनले अमेरिकी अनुदानमा अघि बढाउन लागेका एमसीसी परियोजनाको छनोटको क्रममा समेत उनले काम गरेका थिए ।