एक ग्रन्थपाल (लाइब्रेरियन) को पुस्तकालय अनुभव

एक ग्रन्थपाल (लाइब्रेरियन) को पुस्तकालय अनुभव

धनगढी : कुनै बेला थियो, धनगढीका युवाहरु हिन्दी उपन्यास धेरै पढ्थे । र धैरे पढिने उपन्यासकार मध्ये थिए वेदप्रकाश शर्मा । शर्माका जासुसी कथा पढ्ने युवा पाठकहरुको संख्या बाक्लै थियो ।

२०५०÷०५१ सालतिरको कुरा हो यो । तर समयसंगै युवा पाठकहरुको रुचि फेरिएको छ । अचेलका युवा पाठक नेपाली उपन्यास पढ्छन्, जासुसीको जालो होइन कथामा नेपाली मौलिकता खोज्छन् । 

२५ बर्षदेखि पुस्तकालयमा ग्रन्थपाल भएर काम गरिरहेका डिल्लीराज योगीको अनुभवको संश्लेषण हो यो । धनगढीको मुख्य बजारमा रहेको कैलाली जन पुस्तकालय पनि योगीजस्तै यस्ता धेरै परिवर्तनहरुको साक्षी हो । बि.सं. २०१४ सालमा स्थापित कैलाली जनपुस्तकालय कैलाली जिल्लाका दुई सार्वजनिक पुस्तकालय मध्येको एक हो । अर्को भानु पुस्तकालय जिल्लाको पूर्वी क्षेत्र सत्ती बजारमा थियो ।

अहिले बन्द छ । सबै विधाका पुस्तक पूसतकालयमा उपलब्ध छन् । यो पुस्तकालयले धमिरोले खाएका १५ हजार पुस्तकहरु नष्ट गरेको छ ।

काठको ¥याक, त्यो पनि भित्तासित जोडिएर राखिएको । पुस्तक सबै धमिराले अक्षर नचिनिने बनाएपछि नष्ट गर्नुपरेको प्रमुख ग्रन्थपाल योगी बताउँछन् । त्यो बेला हिन्दी उपन्यास पढ्न आउने पाठकहररु दिनमा १०÷१२ जना हुन्थे ।

सबैको पहिलो रोजाईमा पर्थे उपन्यासकार वेदप्रकाश शर्मा । शर्माका अधिकांश उपन्यासले जासुसी कथा बोकेका हुन्थे । त्यतिखेर दुई किसिमका पाठक आउँथे पुस्तकालयसम्म । पहिलो जासुसी उपन्यास पढ्ने र दोस्रो धार्मिक किताब पढ्ने । धार्मिक किताब पढ्नेहरु केही पाको उमेरका हुन्थे ।

केही युवा पाठकहरुले राजनीतिक बिचारका पुस्तक पनि खोज्थे । राजनीतिक दलमा आवद्ध युवाहरु राजनीतिक पुस्तक पढ्थे । बिेषश गरी बामपन्थी बिचार बोकेका बिद्यार्थी पुस्तकालयका नियमित पाठक थिए । 
वेदप्रकाश शर्माका उपन्यास पढ्ने  युवा फाट्टफुट्ट २०६५ सालसम्म पुस्तकालयमा आउने गर्थे । तर त्यसपछि भने त्यस्ता उपन्यास पढ्नेहरु नभेटेको योगी सुनाउँछन् । पुस्तकालयमा सहायक ग्रन्थपालबाट काम शुरु गरेका उनी अचेल प्रमुख ग्रन्थपालको भूमिकामा छन् ।

यसबीचमा पुस्तकालयको सञ्चालक समितिमा ५ जना त अध्यक्ष नै भए । उनी सहायक ग्रन्थपालको रुपमा पुस्तकालय प्रवेश गर्दा पत्रकार घनबहादुर शाह अध्यक्ष थिए, त्यसपछि कृष्ण बहादुर श्रेष्ठ, दीनानाथ भट्ट र उमाकान्त जोशी आए । दीनानाथ भट्टले पुस्तकालयको अध्यक्षको रुपमा लामो अवधि काम गरे । अहिले उनी प्रमुख ग्रन्थपालको भूमिका पुग्दा डा. टि.एन. जोशी अध्यक्ष छन् । 

२५ बर्षको अवधिमा उनले पाठकहरुका थुप्रै प्रबृति सित साक्षात्कार हुने मौका पाएका छन् । “हिजोका पाठक भन्दा आजभोलीका पाठक बढी गम्भीर बिषयबस्तु पढ्न रुचाउने खालका छन्”–उनले भने “अहिलको पुस्ता पहिले अखवारमा पुस्तकको समिक्षा पढ्छ अनि पुस्तकालय आउँछ ।” 

पाँच सय रुपैया धरौटी राखेर बार्षिक १ सय २५ रुपैया तिरेपछि यो पुस्तकालयको सदस्य बन्न पाइन्छ । अहिले पुस्तकालयसित यस्ता सदस्य ६० जना मात्रै छन् । आजीवन सदस्य मात्रै ५ सय ५० जना छन् । अहिले पुस्तकालयमा १६ हजार जति बिभिन्न बिधाका पुस्तक छन् ।     

अहिले पुस्ताको पढ्ने रुचि नै फरक छ । योगीको अनुभवमा युवा पुस्ता पहिलेको भन्दा अहिलेको पढन्ते छ, तर रुचि भने फरक छ । पहिले दर्शन र साहित्यको बढी खोजी हुन्थयो, हिजोआज राष्ट्रिय अन्तरराष्ट्रिय पुरस्कार पाएका पस्तक बढी पढिन्छन् । “हिजो जुन समेर समुहका पाठकले वेद प्रकाश शर्माका उपन्यास खोज्थे त्यही उमेर समुहको अचेलको पाठक बुद्धिसागरलाई बढी खोज्छ”, योगीको अनुभवले यही भन्छ । 

हिजोको जनसंख्यालाई हेर्दा जति पाठक पुस्तकालय पुग्थे, धनगढीको जनसंख्या बृद्धि दरलाई हेर्ने हो भने पुस्तकालय आउनेको संख्या भने त्यति बढ्न सकेको छैन् । “अब हरेक कलेजहरुमा सानो, ठूलो पुस्तकालय स्थापना भएका छन्, विद्यार्थीहरु त्यतै बढी पढ्न थाले, त्यसैले यहाँ आउनेको संख्या जनसंख्याकै गतिमा बढेन” –योगी भन्छन् । 
२०५० साल देखि २०६२÷०६३ सम्म राजनीतिक दस्तावेज, पुस्तक पढ्न आउने युवाको संख्या राम्रै थियो । तर त्यसपछि भने त्यस्ता पुस्तक खोज्ने मान्छे आफुले नदेखेको उनी बताउँछन् । 

समयसंगै कैलाली जनपुस्तकालय पनि बदलिदै गएको छ । उसले धनगढी उपमहानगरपालिकाको सहयोगमा इ–लाइबे्ररी स्थापना गर्ने काम शुरु गरेको छ ।

अहिले पाँचवटा कम्प्युटर राखिसकेको पुस्तकालयले निशुल्क वाईफाई जोड्ने तयारी पनि गरेको छ । नया पुस्तालाई मध्यनजर गर्दै यो तयारी गरिएको प्रमुख ग्रन्थपाल योगी बताउँछन् । भन्छन –“मैले धेरै खालका पाठकहरु अनुभव गरे, यो पनि हेरौं, इ–लाइब्रेरीले कस्तो अनुभव दिन्छ ?”