घुम्ती पसलको खाजामा अखाद्य रंग

घुम्ती पसलको खाजामा अखाद्य रंग

धनगढी : सडक किनारामा घुम्ती पसलमा खाजा बेच्ने पसलहरुमा खाद्य पदार्थमा मिसाउन नहुने रंग मिसाउने गरेको पाइएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका राजमार्ग क्षेत्र तथा शहरी क्षेत्रमा गरेको अनुगमनमा ती पसलहरुमा अखाद्य रंग मिसाउने गरेको पाइएको हो । 

कैलालीको अत्तरिया, सुख्खड, लम्की तथा कञ्चनपुरको कृष्णपुर, भलारी र दैजीमा गरिएको अनुगमनमा घुम्ती खाजा पसल तथा अन्य खाजा पसलमा समेत अखाद्य रंगको मिसावट पाइएको कार्यालयले जानकारी दिएको छ । राजमार्ग क्षेत्रमा मात्रै होइन शहरी क्षेत्र धनगढीमा पनि घुम्ती पसलहरुमा पाइने खाजामा अत्यधिक मात्रामा रंगको प्रयोग हुने गरेको छ । 

धनगढीका नाम चलेका ठूला होटलहरुमा समेत खानेकुरामा अखाद्य रंग मिसाइएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले बताए । उनले एकपटक चेतावनी दिइएकोले होटलहरु अब सचेत हुने विश्वास ब्यक्त गरे । अनुगमनका क्रममा पकाएर खाने खाद्य पदार्थमा रंग मिसाइएको पाइएका धनगढीका होटलहरुको नाम भने उनले बताएनन् ।

सचेत बनाइएका कारण होटलहरुको नाम नै भन्दा विश्वास घट्न सक्ने भएकोले पहिलोपल्टलाई मिडियामा होटलको नाम भन्न नचाहेको उनको भनाई छ ।   

सबैले मन पराउने र सबैभन्दा बढी बिक्री हुने खाजा चाउमिनमा सबैभन्दा बढी अखाद्य रंग मिसाउने गरिएको छ ।

चाउमिन उमाल्दा खेरी नै रंग हालेर त्यसलाई हेर्दा आकर्षक बनाउने गरिएको छ । होटल तथा खाजा पसल सञ्चालकहरुले मासुबाट बन्ने परिकारमा समेत रंग मिसाउने गरेका छन् ।

बजारमा धेरै चल्ने स्न्याक्स मध्ये खसीको मासुबाट बन्ने सेकुवा, कुखुराको मासुबाट बन्ने चिकेन तन्दुरी, चिकेन चिल्ली लगायतका परिकारमा समेत रंग मिसाइएको पाएको छ । यस्तै चाउमिन, मःम, जेरी जस्ता खाद्य पदार्थमा पनि रंग मिसाएको पाइएको हो ।

यस्ता खाद्य पदार्थमा मसला मिसाउँदा नै रंगको प्रयोग हुने गरेको छ । धनगढीका अधिकांश सेकुवा पसलहरुमा यस्तो रंगको प्रयोग भइरहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । 

नेपाल सरकारले खाद्य ऐन जारी गर्दै पकाएर खाने कुनै पनि खाद्य पदार्थका रंग मिसाउन नपाइने भनेको छ । ऐनमा भएको ब्यवस्था बारे धेरै पसल संचालकहरुलाई जानकारी गराएको अब पनि रंग मिसाएको खाद्य पदार्थ बिक्री गरेको पाइए कानून बमोजिम कार्वाही हुने कुँवरले बताए । ।

यस्तै पकाएको तातो खानेकुरा अखवारमा राखेर खान नहुने उहाँले बताउनुभयो । भारत सरकारको खाद्य ऐनले कुनै पनि प्रकारको खाना अखवारमा राखेर बेच्न नपाएने नियम बनाएको छ । तर नेपालमा त्यस्तो नियम नै नभए पनि उपभोक्ता सचेत हुनपर्ने खाद्य अनुसन्धान अधिकृत कुँवरले बताए ।