अटोरिक्सा सडकमै पार्किङ गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

अटोरिक्सा सडकमै पार्किङ गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

धनगढी : सुदुर पश्चिमको अस्थाई राजधानी धनगढीमा बिभिन्न रुटमा चल्ने साना सवारी साधनहरुले सडकमै पार्किङ गरिदिँदा स्थानीय ब्यवसायी संगै सडकको ढल निकासका लागि भइरहेको निर्माणको काम समेत प्रभावित भएको छ । 

धनगढी बजारको पूर्व पट्टि कैलाली बुहुमुखी क्याम्पस जाने चोकमा पेट्रोलबाट चल्ने तीनपाङ्ग्रे अटोहरुले पार्किङ गर्दा ब्यवसायमा अवरोध आएको गुनासो ब्यापारीहरुको छ । संगै ढल निकासको काम गरिरहेको निर्माण कम्पनीका एक जना कामदारले अटोरिक्साको अवरोधका कारण ढल निर्माणमा समस्या भइरहेको बताए । 

यस चोकमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४, १८ र १९ जाने अटोरिक्साहरुले आफ्नो यात्री खोज्नका लागि पार्किङस्थल बनाएका छन् । अचम्म लाग्दो कुरा के छ भने ट्राफिक प्रहरीले पार्किङ निषेध गरेको साइनबोर्ड मुनि नै अटोरिक्सा पार्किङ गरिएका छन् । 

ट्राफिक प्रहरीले उनीहरुलाई यात्री भरेर छिटो जाउ भन्ने बाहेक उनीहरुलाई त्यहाँ पार्किङ गर्न नदिन कुनै पहल नगरेको स्थानीय बताउँछन् । आफुहरुका लागि पार्किङस्थल नभएका कारण सडक किनारमै पार्किङ गर्नुपरेको एक जना अटोरिक्सा चालक कमल चौधरीले बताए । 

सवारी साधन पार्किङ लागि वैकल्पिक ब्यवस्था गर्न आवश्यक छ । साँघुरो सडकमा ट्राफिक समेत ब्यस्त हुने स्थानमा पार्किङ गर्नु दुर्घटनाको जाखिम बढाउनु हो । नो पार्किङ भनेर गाडी रोक्न निषेध गरिएको स्थानमा समेत पार्किङ हसन थालेको भन्दै सो क्षेत्रका ब्यवसायीहरुले सामाजिक सञ्जालमा फोटो राखेर समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

आफुले सो बारेका जानकारी नपाएको र अब बुझेर चाँडै त्यहाँको पार्किङ हटाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक अनिल उप्रेतीले बताए । सडक किनारमा सर्बसाधारणले हिड्ने बाटो समेत नराखेर गरिने पार्किङ बयवस्थित गरी दुर्घटना न्युनिकरण गर्ने तर्फ सबैले ध्यान दिनु जरुरी छ ।