राष्ट्रिय गौरवका आयोजना समयमै सकाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशन

राष्ट्रिय गौरवका आयोजना समयमै सकाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको  निर्देशन

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना सुस्त भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समयमै सक्न निर्देशन दिएको छ । आयोजना प्रमुखसँग चरणबद्ध छलफल गर्दै आयोजना समयमै सक्न निर्देशन दिइएको हो ।

धेरै वर्षदेखि सुरु राष्ट्रिय गौरवका आयोजना निकै सुस्त देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजना समयमै सक्न पटकपटक निर्देशन दि“दै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई चरणबद्ध रूपमा कार्यालयमै बोलाएर चा“डै सक्न निर्देशन दिएको हो । त्यसका लागि समस्याको गाँठो फुकाउन कार्यालय तयार रहेकोसमेत जनाइएको छ ।

सो कार्यालयले मंगलबार माथिल्लो तामाकोशी जलविद्युत, बुढीगण्डकी जलविद्युत, महाकाली सिचाई, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय र विद्युत प्रसारण आयोजना प्रमुखसँग छलफल गरी वास्तविक अवस्था र समस्याबारे जानकारी लिएको हो ।

आयोजना प्रमुखले पनि हालसम्मको उपलब्धि तथा समस्याबारे जानकारी गराएका छन् । छलफलमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, विकास सल्लाकार गजेन्द्र थपलिया, विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, आर्थिक सल्लाहकार लालशंकर घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव यादवप्रसाद कोइराला, डा. तीर्थ ढकाल, अर्थसचिव शिशिरकुमार ढुंगानालगायतले आयोजनाले भोग्नुपरेका समस्या समाधान गर्न आफूहरूले उचित समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्रीका विकास सल्लाहकार थपलियाले राष्ट्रिय गौरवका आयोजना समयमै सक्नुपर्नेमा विशेष जोड दि“दै आएकाले सबै आयोजनाले त्यसअनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याए । आयोजनमा देखिएका समस्या समाधानका लागि आफूहरु सहकार्य तथा समन्वय गर्न तयार रहेको प्रतिबद्धतासमेत उनले जनाए ।

प्रधानमन्त्री कार्यालयका पूर्वाधार सचिव कोइरालाले राष्ट्रिय गौरवका आयोजना प्रमुखलगायत सबै टिम संवेदनशील हुनुपर्नेमा जोड दि“दै समयमै सकेर मुलुकको समृद्धि र सुशासनमा टेवा दिनुपर्ने बताए । केही आयोजना ढिलाई भइरहेको भन्दै उनले कुनै समस्या भएको भए आफूहरू समाधान गर्न हरपल तत्पर रहेको र काम समयमै सक्न निर्देशन दिए ।

छलफलकाक्रममा महाकाली सिचाई आयोजनाको काम सन्तोषजनक नरहेको पाइएको छ । कार्यक्रममा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुख तथा महानिर्देशकसमेत सहभागी भए । उनीहरूले प्रधानमन्त्रीको निर्देशनअनुसार राष्ट्रिय गौरवका आयोजना समयमै सक्नुपर्ने र त्यसका लागि प्रतिबद्धतासमेत जनाए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबारदेखि चरणबद्ध रूपमा थालेको राष्ट्रिय गौरवका आयोजनाको अवस्थाबारे छलफल कार्यक्रम आगामी १८ असोजसम्म जारी राख्ने भएको छ । प्रधानमन्त्रीका विकास सल्लाहकार थपलियाले सबै राष्ट्रिय गौरवका आयोजनाको अवस्थाबारे आवश्यक जानकारी लिएर प्रधानमन्त्री ओलीसमक्ष ‘ब्रिफिङ’ गरिने जानकारी दिए ।