जनतासँग माफी माग्दै लेबनानका प्रधानमन्‍त्रीले दिए राजीनामा

जनतासँग माफी माग्दै लेबनानका प्रधानमन्‍त्रीले दिए राजीनामा

लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामाको घोषणा गरेका छन् ।  नयाँ मन्त्रिमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै उनले राजीनामा दिएका हुन् । 

लेबनानमा पछिल्ला दशक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ । सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफाले प्रयास विफल भएपछि राजीनामाको घोषणा गरेका हुन् । 

प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन गर्न नसकेकोमा जनतासँग माफी माग्दै राजीनामा दिएका हुन् । ‘म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु’, अदिबले एक टेलिभिजन सम्बोधनमा भनेका छन् । 

लेबनानको राजधानी बेरुत शहरको बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १ सय ९० व्यक्तिको ज्यान गएको थियो ।उक्त विस्फोटमा हजारौँ व्यक्ति घाइते भएका थिए । 

अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदिबमाथि अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन र आवश्यक सुधार गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो । उनको त्यो प्रयास विफल भएपछि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।