विस्तारै गिद्ध लोप हुँदै

विस्तारै गिद्ध लोप हुँदै

डडेल्धुरा : डडेल्धुुरा जिल्लाको ठूला पहाड, भिरपाखामा दैनिकजसो देखिने गिद्ध पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । 

कुनैबेला डडेल्धुराका सबैजसो ठाउँमा सहजै देखिने गिद्ध पछिल्लो समयमा लोप हुदै गएको पक्षी विशेषज्ञले बताएका छन् । दिन प्रतिदिन वातावरण असन्तुलिन हुदै जानु र गिद्धलाई आवश्यक पर्ने उपयुक्त बासस्थानको कमीले गर्दा लोप हुदै गएको उनीहरुको भनाइ छ । 

प्रकृतिको कुचीकार मानिने पक्षी गिद्ध वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने निर्दोष पक्षीको संरक्षणमा भने कतैबाट खासै पहल भएको देखिँदैन । ‘डाइक्लोफेनिक’ औषधि सेवन गरेका पशुहरु मरेपछि तिनको सिनो खाँदा गिद्धमा त्यसको प्रत्यक्ष असर पर्ने गर्दछ । 

सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले यस क्षेत्रका केही जिल्लालाई ‘डाइक्लोफेनिक’ मुक्त क्षेत्र घोषणा गरेपनि घोषणापछि प्रभावकारी अनुगमन नहुँदा यसको प्रयोग बढेसँगै गिद्धको सङ्ख्यामा ह्रास आएको छ । 

चार÷पाँचवर्ष पहिलेसम्म डडेल्धुरा जिल्लाको आकाश र गाउँघर नजिकैका सिनो फाल्ने ठाउँतिर प्रशस्त मात्रामा भेटिने गिद्धले ठूलाठूला पहाडको भिरमा गुड लगाएका हुन्थे । 

मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने तथा व्यवस्थित रुपमा राख्न थालिएपछि जिल्लामा गिद्धलाई आहारा नपुगेको र जनसङ्ख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले यसको सङ्ख्या कम हुदै गएको अनुमान रहेको पाइन्छ । 

गिद्ध धेरै चिसो र गर्मी मौसममा बसोवास गर्ने पक्षी रहेको हुदा डडेल्धुरा जिल्लामा धेरै चिसो हुने तथा हिमाली जिल्लाको छेउमा भएका कारणले पनि धेरै भेटिन्थ्ये तर आजभोलि गिद्ध नभेटिने गरेको जिल्ला साविको पशु विकास कार्यालय डडेल्धुराका प्रमुख तथा पशु विकास अधिकृत खड्कबहादुर शाहले भन्नुभयो, “गिद्धलाई बच्चा जन्माउन र फुल पार्न बढी गर्मी मौसम चाहिन्छ भने अन्य समयमा पहाडी मौसमसँग रमाउँछ । 

गिद्धको प्रमुख आहाराका रुपमा रहेको पशु चौपायाको सिनोमा मानवद्वारा कीटनाषक औषधि प्रयोग गिद्ध लोप हुनुको प्रमुख कारण मानिएको छ । वन विनाशसँगै ठूला जातका रुखमा कमी हुनु, पर्यावरणमा असर आउनुलगायतका कारणबाट पनि गिद्धको सङ्ख्यामा कमी आएको हुनसक्ने नवदुर्गा गाउँपालिका– १ का स्थानीयवासी लोेकेन्द्र विक बताउनुहुन्छ । 

नेपाल सरकारले गिद्ध संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताएपनि ती कार्यक्रमहरु यस क्षेत्रमा सञ्चालन नभएको स्थानीयवासीले गुनासो गरेका छन् । 

उनीहरुले प्रभावकारी रुपमा यसको संरक्षणमा नलाग्ने हो भने देशको सुदूरपहाडी क्षेत्रमा गिद्धको अस्तित्व समाप्त हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । यसरी नै लोप हुँदै गएमा केही वर्षमा नयाँ पुस्ताले गिद्धको तस्बिर हेरेर चित्त बुझाउनुपर्ने अवस्था आउन सक्ने बिक बताउनुहुन्छ । 

गिद्धको संरक्षणमा सरकारी प्रयासले मात्र सम्भव नहुने हुदाँ यसको संरक्षणका लागि स्थानीय बासिन्दालाई सचेत गराउनुपर्ने आवश्यकता रहेको जानकारहरुले बताएका छन् ।