नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २० पुग्यो

नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २० पुग्यो

नुवाकोट : घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

 दुप्चेश्वर गाउँपालिकाको शिखरवेसीको सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर –१ घ्याङडाडामा दुर्घटना हुँदा २० जनाको ज्यान गएको हो । 

घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो । 

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ ।

यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

मिनिट्रक सडकदेखि करिब ५ सय मिटर तल तादीखोलामा खसेको प्रहरीले जनाएको छ । शिखरवेसीको सिम्टाङमा मृत्यु भएकाको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जाँदै गरेको मिनिट्रक दुर्घटनामा परेको हो । साभार : उज्यालाे अनलाइन