हराउदै पञ्चे बाँजा, फैलदै व्याण्ड बाँजा

हराउदै पञ्चे बाँजा, फैलदै व्याण्ड बाँजा

धनगढी : मंसिर महिना बिवाह उत्सबको महिना हो । बिवाह भन्ने बित्तिकै बाँजा बजाउने चलन पनि छ । तर हिजोआज बिवाहमा बजाइने पञ्जे बाँजा र छलिया भन्दा बढी ब्रास ब्याण्ड (व्याण्ड बाँजा) को प्रयोग बढ्दो छ । 

ब्रास ब्याण्ड बजाउने नेपाली समुहको कमीका कारण बिवाह उत्सवमा भारतीय ब्याण्डहरु प्रयोग हुन थालेका छन् । भारतीय ब्याण्डको प्रयोगले नेपाली पैंसा मात्रै भारत तर्फ गइरहेको छैन, युवा पुस्ताले संस्कृति समेत बिर्सने स्थिति बनेको छ । 

मंसिरको महिनामा भइरहेका विवाहहरुमा ब्रास ब्याण्ड बजाउनेहरुलाई भ्याइ नभ्याई छ । पञ्चे बाँजामा भन्दा ब्रास ब्याण्डमा नाच्न सजिलो मान्नेहरुले यसैलाई पहिलो रोजाई मान्न थालेका छन् ।

धनगढीमा हुने बिवाह उत्सवहरुमा ब्याण्ड बजाउन नेपाली ब्याण्ड समुह एउटा मात्रै छ । 

धनगढीमा एकै ब्याण्डले सबैतिर जान सक्ने अवस्था नभएकोले केहीले ४५ किलोमिटर टाढाको महेन्द्रनगरमा रहेका नेपाली समुहहरुलाई बोलाउँछन् । 

केहीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड पनि बोलाउँछन् । प्रहरीको ब्याण्डले निश्चित समय सम्म मात्रै बजाउने भएकोले सबैको रोजाई ब्यवसायिक ब्याण्ड समुह नै हुनछन् । 

धेरै बिवाह एकैदिन हुने भएकोले महेन्द्रनगरकाले पनि नपुगेपछि विकल्पमा सबैले भारतको पलियाबाट यस्तो ब्याण्ड समुह बोलाउने गरेका छन् । 
पलियाबाट यो महिनामा बिवाह उत्सवमा ५ देखि ६ वटा समुह बाजा बजाउन आइरहेको पलियाको एक समुहका मुल ब्याण्ड मास्टर सुरेश कुमारले बताउछन । 

उनीहरुले एक दिवसीय बैवाहिक कार्यक्रममा बाजा बजाए बाफत दैनिक ३५ हजार रुपैया सम्म लिने गरेका छन् । 

धनगढीमा रहेको एक मात्र नेपाली समुह प्रशान्त ब्याण्डका मास्टर सुनिल जैरुले आफुकहाँ दुई महिना पहिले देखि नै बुकिङ गर्न मान्छेहरु आउने गरेको बताए । 

नौ जनाको समुहमा रहेको यो ब्याण्डले एक दिने बैवाहिक कार्यक्रमका लागि २५ हजार र दुई दिने कार्यक्रममा ३५ हजार लिने गरेको छ । 

सबैले बिबाहमा बाजा बजाउन नेपाली समुह नै रुचाउने भएका कारण युवाहरुलाई तालिम दिन सकिए भारतीय बाजाको प्रयोगमा कमी आउने जानकारहरु बताउछन ।