विद्युत कटौती बढेसँगै जनतामा लोडसेडिङको आशंका, प्राधिकरण भन्छ ‘एक जना बाहिरिंदैमा प्रणाली बाहिरिंदैन’

विद्युत कटौती बढेसँगै जनतामा लोडसेडिङको आशंका, प्राधिकरण भन्छ ‘एक जना बाहिरिंदैमा प्रणाली बाहिरिंदैन’

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ४ वर्षे कार्यकाल पूरा गर्दै कुलमान घिसिङको वहिर्गमन भएसँगै विद्युत काटिएको जनगुनासो बढेको छ । पूर्व सूचना विना पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा जनतामा लोडसेडिङ सुरु भएको भन्ने भ्रम सृजना भएको हो ।

एकातिर प्राधिकरणमा घिसिङ नै आउनु पर्छ भन्ने जनदबाब बढ्दो छ भने अर्कातर्फ सरकार संवैधानिक व्यवस्था अनुसार घिसिङलाई पुनः नियुक्त गर्न नमिल्ने तर्क गर्दै आएको छ । घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्न सरकार अग्रसर नदेखिएको भन्दै जनता सरकारसँग नै रुष्ट बनेका छन् । फलस्वरुपः सडकमा निस्किएर विरोध कार्यक्रम समेत गरेका छन् ।

यता, पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई पनि धेरै उपभोक्ताहरुले घिसिङको बहिर्गमनसँग जोडेर हेरेका छन् । आम उपभोक्ताको आशंका छ कि, अब फेरि लोडसेडिङ हुने त होइन रु यतिमात्र नभएर पछिल्लो समय लाइन काटिने र प्राधिकरणको गुनासो सेन्टर ११५० मा कल गर्दा तथा नो लाइटमा गुनासो राख्न खोज्दा समेत फोन नउठ्ने र उठेपनि राम्रो जवाफ नदिने जनगुनासो बढ्दो छ ।

तर, यस्तो आँकलन सहि नभएको बताउँछिन् प्राधिकरणकी सूचना अधिकारी लिला अर्याल । कतिपय स्थानमा मर्मत सम्भारको काम अगाडि बढेको र केही स्थानमा आकस्मिक समस्याका कारण यस्तो समस्या आएको हुन सक्ने उनको दाबी छ ।

प्राधिकरणले त्यसप्रकारका समस्यामा केन्द्रीत भइ अग्रिम सूचना दिने तथा जतिसक्दो छिटो समस्या समाधान गर्ने गरेको सूचना अधिकारी अर्यालको भनाइ छ । प्राधिकरण आफ्नै प्रणालीमा सञ्चालित भएको र कुनै एक व्यक्ति संस्थानबाट बाहिरिदा प्राणाली समेत बहिरिन्छ भन्ने आम मानसिकता एक भ्रम मात्र रहेकाले प्रणालीमाथि आशंका नगर्न आर्यलको आग्रह छ ।

यता ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनको सचिवाललयले गत सोमबार भएको विद्युत कटौतीलाई लोडसेडिङ नभएको पुष्टि गरी सकेको छ । प्राधिकरणले पछिल्लो समय विभिन्न मर्मत तथा प्राविधिक काम अगाडि बढाएकाले लाइन काटिएकाले यसलाई लोडसेडिङ भएको हो भन्ने भ्रममा नपर्न सचिवालयले आग्रह गरेको छ ।

त्यस्तैगरी विद्युत् कटौतिका सम्बन्धमा निमित्त कार्यकारी निर्देशक कोइरालाले पनि अहिले विद्युत् वितरण लाइनमा ठूलो प्राविधिक समस्या नरहेको बताएका छन् । यदि कतै समस्या देखिएमा मर्मतका लागि तत्कालै प्रविधिक टोली परिचालन गर्न निर्देशन दिइसकेको कोइरालाको भनाइ छ ।