नगरपालिकाद्वारा अस्पताललाई सहयोग

नगरपालिकाद्वारा अस्पताललाई सहयोग

अमरगढी नगरपालिकाले डडेल्धुरा अस्पतालमा सञ्चालन भएको पीसीआर ल्याब सञ्चलान तथा संकट समाधानका लागि मंगलबार अस्पताललाई २० लाखको चेक हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पालमा कोरोना परीक्षण ल्याब स्थापना भई पीसीआर परीक्षण भइरहेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि अमरगढी नगरपालिकाले अस्पताललाई २० लाख रुपैयाँ सहायता गरेको अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले बताएका छन् ।

अमरगढी नगरपालिकाले २० लाख रुपैयाँ खर्च गर्ने ४ वटा शर्तहरुसहित रकम हस्तान्तरण गरेको छ । डडेल्धुरामा कोरोना परीक्षण ल्याब संचालनमा आएपछि डडेल्धुरा लगायत सुदूरपश्चिमका अन्य जिल्लाहरुको पीसीआर परीक्षण हुँदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा पनि सुधार हुँदै आएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताएका छन् ।

उनले भने अझै डडेल्धुरा अस्पतालको गुणस्तर सुधारका लागि स्थानीय तहबाट भएको आर्थिक तथा भौतिक सहयोगले थप ऊर्जाप्राप्त भएको छ र स्थानीयतहहरुसँग सधैं समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेका छौं ।
कोरोनाको महामारी सुरु भएसँगै डडेल्धुराका स्थानीयतहहरुले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशाला सञ्चालनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए सोही प्रतिबद्धता अनुसार अस्पताललाई २० लाख सहयोग गर्ने अमरगढी नगरपालिका पहिलो स्थानीय तह भएको छ ।