कोरोना संक्रमणमुक्त भएकाहरूले शुरू गरे प्लाज्मा दान अभियान

कोरोना संक्रमणमुक्त भएकाहरूले शुरू गरे प्लाज्मा दान अभियान

कोरोनाभाइरस संक्रमणबाट निको भएका व्यक्तिहरूले प्लाज्मा दान अभियान शुरू गरेका छन्। कोभिड(१९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमणमुक्त भएका व्यक्तिहरूले बुधबारदेखि प्लाज्मा दान अभियान शुरू गरेका हुन्।

उनीहरूले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर ‘मैले जिते कोरोना म गर्छु ९प्लाज्मा० रक्तदान’ भन्ने नारासहित प्लाज्मा दान अभियान शुरूआत गरेका छन्। कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड १९ संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरू गरिएको बताए। प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए।

कार्यक्रममा कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरूले आत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने अनुभव सुनाए। संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफूहरूले प्लाज्मा दान अभियानको शुरूआत गरिएको केही समय पहिले कोरोना संक्रमणमुक्त भएका नारायण घर्तीले बताए।

‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं, सबै लागौं सँगसँगै लागौं’ भन्दै अभियान थालिएको उनीहरूले बताएका छन्।

पछिल्लो समय देशका धेरै अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड(१९ संक्रमितको उपचार गरिरहेका छन्। सरकारले पनि परीक्षणको रूपमा बिरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ।

त्यसैले संक्रमण निको भएका व्यक्तिहरू प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीहरूको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन्। यो अभियानलाई देशैभर सञ्चालन गर्ने उनीहरूको भनाइ छ।