आज सातै प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना

आज सातै प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना

आगामी २४ घन्टा देशैभरि केही स्थानमा भारी वर्षाको संभावना छ। प्रदेश १ देखि प्रदेश ५ सम्मका केही स्थानमा भने अति भारी वर्षा हुनसक्नेछ ।

भारी वर्षा भएका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी भागमा भने आंशिक बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ।

बिहीबार र शुक्रबार पनि देशका केही स्थानमा भारी वर्षाको संभावना छ। प्रदेश १, २ र बागमतीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। ती प्रदेशका केही स्थानमा भने भारी वर्षा हुनेछ।

गएराति लमजुङको बेसिशहर, खुदीबजार लगायत आसापास तथा गोरखा र धादिङको सीमा आरुघाट आसपास क्षेत्रमा अति भारी वर्षा भएको थियो। ती क्षेत्रका साना तथा ठूला नदीमा आकस्मिक बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त क्षेत्रमा अझै ठूलो वर्षाको संभावना भएको भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको छ।

हिजो साँझ साढे ५ बजे बुटवलस्थित तिनाउ नदीको जलसतहले सतर्कता विन्दू पार गरेको थियो। तिनाउ नदीको तटीय क्षेत्र र आसपास डुबाउ हुनसक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ।