मन्त्री वीना मगरद्वारा कञ्चनपुरमा महायज्ञको उद्घाटन

मन्त्री वीना मगरद्वारा कञ्चनपुरमा महायज्ञको उद्घाटन

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका बुट्टावारि स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सव महायज्ञको बिहिवार नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले उद्घाटन गर्नुभएको छ ।

विद्यालयलाई आधुनिक सेवा सुविधा सहित स्मार्ट विद्यालय बनाउन आयोजना गरिएको महायज्ञमा मन्त्री मगरले एक लाख एक हजार एक सय एक रुपैयाँ आर्थिक सहयोग गर्ने बताउनुभएको छ । 

महायज्ञ उद्घाटन कार्यक्रममा पुग्नुभएकी नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले गुणस्तरीय शिक्षामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ । 

उहाँले शैक्षिक उन्नति भनेर भौतिक संरचना र सेवा सुविधालाई मात्र बुझ्न नहुने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तरता वृद्धि गर्न अध्ययन अध्यापनमा विद्यार्थीको क्षामता अनुसार अनुकुल साथ र सहयोग चाहिने बताउनुभयो ।

उहाँले धार्मिक पाटोलाई समेट्दै विद्यालयको विकासका लागि आयोजित महायज्ञ विद्यालयको हितमा निकै नै लाभदायिक हुने विश्वास व्यक्त गर्नुभयो । 

विद्यालयले स्मार्ट विद्यालय बनाउने उद्देश्य राखेकाले विद्यालयको शैक्षिक विकासमा नगरपालिकाले भरपुर सहयोग गर्ने बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

महायज्ञ सञ्चालन समितिका अध्यक्ष रामेश्वर न्यौपाने विद्यालय हाल घाटामा सञ्चालन भएको हुँदा विद्यालयको स्थित कमजोर भएको जिकिर गर्नुभयो ।

उहाले विद्यालयको आर्थिक स्थिति सुधार गरी प्लस टु सञ्चालन गर्दै आधुनिक सेवा सुविधा सहितको शैक्षिक गुणस्तरता प्रदान गर्न महायज्ञको आयोजना गरिएको जानकारी गराउनुभयो । 

महायज्ञ उद्घाटन कार्यक्रम सकेर पुनर्वास नगरपालिका आइबिआरडी स्थित दलित बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक साधारण सभामा उपस्थित हुनुभएको थियो ।

दुई दिनका लागि कञ्चनपुर आउनुभएकी मन्त्री मगर विभिन्न कार्यक्रममा सहभागिता जनाउदै विहिबार नै काठमाडौं फर्कनुभएको छ । मन्त्री मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित सांसद हुनुहुन्छ ।