नक्सा पासै नगरी घर निर्माण

नक्सा पासै नगरी घर निर्माण

बाजुरा : बाजुरा सदरमुकाम मार्तडी बजार क्षेत्रका नक्सा पासै नगरी नयाँ घर निर्माण भइरहेका छन् । बडीमालिका नगरपालिकामा नक्सा पास नगरीकनै धमाधम घर निर्माण गरिन लागेका हुन् ।

सदरमुकामको बीच बजारमा निर्माण भइरहेका पाँच दर्जनभन्दा बढी घर मापदण्डविपरीत निर्माण भइरहेका छन् । घर निर्माण गर्नुअघि नगरपालिकामा राजस्व तिरेर अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने प्रावधान छ । तर, यहाँ निर्माण भइरहेका घर उक्त मापदण्डविपरीत छन् ।

जग्गाधनीले नगरपालिकाको मापदण्ड बेवास्ता गर्दै धमाधम घर निर्माण थालेका हुन् ।

मार्तडीलाई समृद्ध सहर बनाउन नगरपालिकाले जिल्ला वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालयको मूल गेटसम्म र गौडाडिलदेखि खुलामञ्चसम्मको सडक निर्माणका त्यस क्षेत्रमा पर्ने सबै घर भत्काउन जग्गाधनीलाई आग्रह गरेको थियो ।

जग्गाधनीहरूले सोही आग्रहअनुसार घर भत्काए पनि घर पुनर्निर्माण गर्दा मापदण्डको वास्तै नगरी आफ्नै इच्छाअनुसार निर्माण गरिरहेका हुन् । अहिलेसम्म नक्सा पास गर्न कोही नआएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नगरपालिकाभित्र घर निर्माण गर्दा प्राविधिकले बनाएको नक्सा, चार किल्ला प्रमाणित, नापी र ट्रेस नक्सा, एकीकृत सम्पत्ति कर तिरेको रसिदसहित नक्सापास गर्न निवेदन दिनुपर्ने मापदण्ड बनाएको छ । तर, जग्गाधनीहरूले उक्त नियमको वास्ता नगरी घर बनाइरहेका हुन् ।

बडीमालिका नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत हीरालाल भण्डारीले नगरपालिकाको मापदण्डविपरित निर्माण भइरहेका घरहरू नगर विस्तार गर्ने क्रममा जुनसुकै वेला पनि भत्काउन सकिने बताए ।

जग्गाधनीले मनोमानी रूपमा घर निर्माण गर्दा पनि नगरपालिकाले चासो नदिएको नागरिक अगुवाहरूको गुनासो छ । बडीमालिका नगरपालिकाका प्रमुख पदम पडुवाले नगरपालिकाको नीतिनियमविपरीत घर बनाउनेलाई कारबाही गरिने बताए ।साभार नयाँ पत्रिका