वैशाखदेखि द्रुत मार्ग सञ्चालन हुने : मुख्यमन्त्री भट्ट

वैशाखदेखि   द्रुत मार्ग सञ्चालन हुने : मुख्यमन्त्री  भट्ट

धनगढी : धनगढी दिपायत द्रुत मार्ग आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । मंसिर ४ गते प्रदेश सरकारलाई हस्तान्तरण भएसंगै स्वामित्वको विवाद अन्त्य भएको छ ।

प्रदेश सरकारले आयोजना आफ्नो मातहतबाट सञ्चालन हुने भएपछि काम अगाडि बढाउन २ जना इन्जिनियर खटाएको छ । हाल दुई जना इन्जिनियर खटाइए पनि काम भने शुरु हुन सकेको छैन् । 

संघीय सरकारले आयोजना हस्तान्तरण गरेपछि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काम अगाडि बढाउन २ जना इन्जिनियर खटाएको हो । प्रदेश र संघीय सरकारबीच स्वामित्वको विषयमा टुङ्गो नलाग्दा रोकिएको निर्माणको काम छिट्टै शुरु हुनुपर्ने स्थानीयको माग छ ।

अहिले स्वामित्वको विवाद हटेकोले पनि निर्माण सुरु हुन गर्नुपर्ने उनीहरुले बताएका छन् । स्वामित्व हस्तान्तरण भर्खर मात्र भएकोले काम हसन नसकेको भए पनि द्रुतमार्गको काम चाँडै अगाडि बढाउने योजनामा प्रदेश सरकार छ ।

द्रुतमार्ग हेर्दै आएका भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर विरेन्द्रबहादुर चन्दले रुख कटानीको आदेश नपाउँदा काम अगाडि बढ्न नसकेको बताउनुभयो । प्रदेश सरकारको मातहतमा योजना आए पनि रुख कटानीको आदेश भने योजना कार्यालयले नल्याएका कारण काम अलमलमा परेको उहाँले बताउनु भएको छ ।

रुख कटानीको फाइल १० महिनादेखि संघीय वन मन्त्रालयमा अड्किँदा पनि फाइल अगाडि बढाउन कुनै पहल नभएको स्थानीयबासीन्दाको भनाई रहेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री लगायतका सरकारका प्रतिनिधिहरु भने यसै आर्थिक वर्षभित्र द्रुत मार्गमा गाडी गुडाउने दाबी गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आउँदो वैशाखदेखि द्रुत मार्ग सञ्चालन हुने बताउनु भएको छ ।