किसानले धान बेचेपछि धान किन्दै खाद्य सस्थान

किसानले धान बेचेपछि धान किन्दै खाद्य सस्थान

धनगढी : ढिलो गरी धान खरीद गर्न शुरु गरेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीले हाल सम्म जम्मा ८ हजार क्वीन्टल धान खरीद गरेको छ । 

बजारमा अन्य ब्यवसायीले भन्दा प्रति क्वीन्टल ३ सय रुपैया बढी मुल्य दिएपनि किसानहरुले आधा भन्दा बढी धान बेचिसकेपछि खरीद गर्न शुरु गरेका कारण अपेक्षा गरे अनुरुप संस्थानले धान खरीद गर्न सकेको छैन् । 

५० हजार क्वीन्टल धान खरीद गर्ने लक्ष्य रहेको संस्थानले जानकारी दिएको छ । कात्तिक मसान्त सम्म धेरै किसानहरुले आफ्नो धान बेचिसकेका कारण मुल्य बढी दिए पनि अपेक्षा अनुसार संस्थानले धान पाउन नसकेको हो । 

संस्थानले मंसिर ७ गतेदेखि मात्रै धान खरिद गर्न शुरु गरेको थियो । नेपाल सरकारले तोकेको समर्थन मुल्यमा धान खरीद गरिरहेको संस्थानका बरिष्ठ गुण नियन्त्रक रोशन श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल सरकारले यस बर्षका लागि मोटो धानको मुल्य प्रति क्वीन्टल २ हजार ३ सय ३१ रुपैया तोकेको छ। संस्थानले धनगढी उपमहानगरको वडा नम्बर १३ मोहनपुर, टीकापुर, भजनी र जोशीपुर डिपोबाट धान खरिद गरिरहेको छ । 

यस अघि अन्य खाद्यान्न ब्यवसायीहरुले भने किसानबाट न्युनतम, १ हजार नौ सय देखि अधिक्तम २ हजार रुपैया प्रति क्वीन्टलका दरले धान खरीद गरेका थिए । 

संस्थानले महङ्गोमा किन्न थालेपछि ब्यवसायीहरुले समेत प्रति क्वीन्टल २ हजार ३ सय रुपैया दिन थालेका छन् ।