बलात्कार आरोप लगाउने युवतीलाई नै जेल सजाय

बलात्कार आरोप लगाउने युवतीलाई नै जेल सजाय

बलात्कारको आरोप लगाउने युवतीलाई नै अदालतले जेल सजाय सुनाएको छ । झुटो आरोप लगाएको भन्दै ती युवतीलाई अदालतले युवतीलाई कैद सजाय सुनाएको हो ।

जिल्ला अदालत सुर्खेतले तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला अदालत सर्खेतले भदौ १४ गते ती युवतीलाई एक महिना कैद र १५ सय रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए ।

‘यो गम्भीर आरोप हो । जबरजस्ती करणीको आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गर्नुहुन्न भन्ने ठहरका साथ अदालतले ती युवतीलाई कैद र जरिवानाको फैसला गरेको छ,’ श्रेस्तेदार बास्कोटाले भने ।

कैद सजाय फैसला भएकी १८ वर्षीय युवती सुर्खेतको बराहतालकी हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ९क० अनुसार फैसला भएको श्रेस्तेदार बास्कोटाको भनाइ छ ।

गत असोज २८ र ३० गते गुप्ताले कार्यालयमै बोलाएर बलात्कार गरेको भन्दै ती युवतीले मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन ।

युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख छ । तर उक्त वकपत्र नै झुटो भएको ठहर अदालतले गरेको छ । अदालतको फैसलापछि ती युवती फरार भएकी छन ।

फैसला भएदेखि ती युवती सम्पर्कमा आएकी छैनन । कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाइसकेको छ ।