ललितपुर ८ विकेटले विजयी, पोखराको दोस्रो हार

ललितपुर ८ विकेटले विजयी, पोखराको दोस्रो हार

काठमाडौं : पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा लगतातार दोस्रो हार ब्यहोरेको छ ।

आफ्नो दोस्रो खेलमा ललितपुर प्याट्रिएट्ससँग ८ विकेटले पराजित हुँदै पोखराले अन्तिम चारमा पर्ने सम्भावनालाई समेत कमजोर बनाएको हो । पोखराले दिएको १६७ रनको चुनौती ललितपुरले १५।५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।


ललितपुरको जितमा ओपनर गौरव टोमर र जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गरे । पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेका गौरव र कोल्सवालाकै विष्फोटक ब्याटिङमा ललितपुरको जित सम्भव भएको हो ।

ललितपुरका लागि गौरवले ८४ रन बनाए । उनले ४१ बलमा आठ छक्का र चार चौका प्रहार गरे । त्यस्तै, ३८ बलमा चार चौका र तीन छक्का प्रहार गरेका कोल्सवालाले ५१ रन बनाए ।

त्यस्तै, ललितपुरको जितमा सन्नी पटेलले आठ बलमा २० र सोनु तामाङले ८ बलमा ११ रनमा अविजित रहे । सुरुवातीदेखि नै आक्रामक ब्याटिङ गरेको ललितपुरका ब्याट्सम्यानविरुद्ध पोखराका कुनै पनि बलर चल्न सकेनन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनाएपछि ललितपुरले मध्यम स्कोरको लक्ष्य पाएको थियो ।

पोखराका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभीले विष्फोटक ब्याटिङ गर्दै ८४ रन बनाए । उनले ३९ बलमा ९ छक्का र तीन चौका प्रहार गरे । उनले कप्तान कायल कोएट्जरसँग मिलेर ९७ रनको साझेदारी गरे ।

तर लेभी आउट भएसँगै पोखराले ठूलो स्कोर बनाउन सकेन । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनील धमला पनि ११ बलमा १० रन बनाएर आउट हुदा कप्तान कोएट्जरले ३१ बलमा १९ रन बनाएर आउट भए ।

त्यसपछि पोखराको धराप इनिङ्स सम्हाल्न पाउल कौगलिन र विनोद भण्डारी आए । भण्डारीले २३ बलमा अविजित ३४ रन बनाए भने कौगलिन १४ रनमा रनआउट भए । यी दुई ब्याट्सम्यानले ४८ रनको साझेदारी गरेका थिए ।

विष्फोटक ब्याटिङ गरे पनि उनी फेरि एकपटक अभागी सावित भएका छन् । उनले उत्कृष्ट खेले पनि टिम भने हार्न पुग्यो । यसअघि आइतबार भएको खेलमा भैरहवा ग्लाडिएटर्ससँग पोखरा चार विकेटले पराजित हुदा लेभीले विष्फोटक ब्याटिङ गर्दै ७९ रन बनाएका थिए ।

उनले ३६ बलमा सात छक्का र सात चौका प्रहार गरेका थिए । बलिङतर्फ पवन सर्राफले तीन विकेट लिए ।