काठमाडौं : अन्तरप्रदेश परिषद्को बैठक आज पनि जारी छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा केन्द्र र प्रदेश सरकारबीच कायम दुरी अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ ।
बैठकले लामो समयदेखि दुई निकायबीच कायम रहँदै आएको दुरी अन्त्य गर्ने अपेक्षा मुख्यमन्त्रीहरुले राखेका छन् । प्रदेश सरकार गठनको १० महिनापछि पहिलो पटक काठमाडौंमा जारी परिषद् बैठकपछि अधिकांश समस्याको समाधान हुने र समदुरी कायम हुने अपेक्षा उनीहरुको छ ।
कानुनी संरचना, कर्मचारी व्यवस्थापन र साझा अधिकार प्रयोग गर्ने बारे कायम केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको दुरी कम गर्न बैठक फलदायी हुने मुख्यमन्त्रीहरुको विश्वास छ ।
आजको बैठकमा थप तीन वटा प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राख्दै छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र सु्दूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्दैछन् ।
हिजोको बैठकमा प्रदेश १, २, ३ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो धारणा राखेका थिए । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणी पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले आफ्नो धारणा राख्दै संविधानले दिएको अधिकारसमेत प्रयोग गर्न नपाएको गुनासो गरेका थिए ।
उनीहरुले व्यवस्थापनका लागि गम्भीर हुन केन्द्र सरकारलाई आग्रह गरेका थिए । बैठकमा मुख्यमन्त्रीहरुले धारणा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन मन्तव्य दिने कार्यक्रम रहेको छ ।