काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ।
काठमाडौंमा आइतबार गरिएको पत्रकार सम्मेलनमा संघकी महासचिव धना खतिवडाले बलात्कारपछि मारिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागिन्।
राष्ट्रियसभाकी सदस्य समेत रहेकी खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मलाका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएकी छन्।
उनले भनिन्, ‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ। यस्तो घृणित र खेदजनक कामको नेपाल महिला संघ घोर भत्र्सना गर्छ।’
संघले कञ्चनपुर पुगेर घटनाको स्थलगत अनुगमन गरेको भन्दै उनले चाँडै संघ आन्दोलनमा उत्रने समेत जानकारी दिइन्। उनले महिला हिंसाविरुद्ध १६ दिन सरकारले मनाइरहँदा देशमा बलात्कार र महिलामाथिको हिंसा ह्वात्तै बढेको दाबी समेत गरिन्।