प्रदेश बस सञ्चालन गर्ने योजना अलपत्र, छ महिना सम्म छलफल समेत भएन

प्रदेश बस सञ्चालन गर्ने योजना अलपत्र, छ महिना सम्म छलफल समेत भएन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को बजेटमा प्रदेश बस सञ्चालन गर्ने उल्लेख गरेको भएपनि हालसम्म उक्त विषयमा सामान्य छलफल र अध्ययन नै हुन नसकेको पाईएको छ । 

गत असार १ गते ल्याएको बजेटमा सरकारले प्रदेश बस सञ्चालन गर्ने भन्दै २० करोड रुपैया छुट्याएको थियो । तर, बजेट छुट्याएको ६ महिनासम्म पनि त्यस विषयमा कुनै छलफल र अध्ययन हुन नसकेको हो । 

उक्त कुराको पृष्टि गर्दै भौतिक पूर्वाधार विकाश मन्त्रालयका सचिव ईन्द्रदेव भट्टले कर्मचारी अभावमा प्रदेश बस सञ्चालनबारे सरकारले कुनै अध्ययन र छलफल गर्न नसकेको बताउनुभयो । 

पहिलो चौमासिकमा कर्मचारी अभाव, जिल्ला जिल्लामा विषयगत कार्यालय स्थापना गर्नुपर्ने, योजनाको अख्तियारी दिनुपर्ने, कार्यान्वयनको चरणमा लिनका लागि काम गर्नुपर्दा प्रदेश बस सञ्चालनको प्रक्रिया अगाढी बढाउन नसकिएको उहाँले जानकारी दिनुभयो । 

उहाले प्रदेश बस सञ्चालन गर्ने योजना प्रदेश सरकारको नयाँ भएकोले पनि कार्यान्वयनको चरणमा लैजान समस्या भएको बताउनुभयो । 

अव प्रदेश बस सञ्चालन गर्ने योजना कार्यान्वयनमा लैजान लागिएको समेत सचिव भट्टले जानकारी दिए । त्यसका लागि मंसिर २८ गते दुई कम्पनीसग छलफल गर्न लागिएको समेत भट्टले जानकारी दिएका छन । 

‘प्रदेश बस सरकार आफैले चलाउने कि भाडामा दिने ?, डिजेलबाट चल्ने कि विद्युतीय बस चलाउने ?, टिकट कति तोक्ने ?, कहाँ कहाँ चलाउने ?, बस कहाँ राख्ने भन्नेबारे २८ गते छलफल गर्छौ ।’ उहाले भन्नुभयो, ‘त्यसपछि दुई कम्पनीलाई एक महिनाभित्र बस सञ्चालनको नमुना तयार गर्न लगाउछौ । सकेसम्म चैत्रदेखि बस सञ्चालन गर्ने प्रयास गर्छौ ।’

बजेटमा सुदूरपश्चिम प्रदेशका सवै जिल्लामा बस सञ्चालन गर्ने घोषणा गरिएपनि सुरुमा तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा बस सञ्चालन गर्ने मनस्थितिमा भौतिक पूर्वाधार विकाश मन्त्रालय देखिन्छ । 

कञ्चनपुरको गड्डाचौकी देखी चिसापानीसम्म विद्युतीय चार्जिङ स्टेसन राखेर विद्युतीय बस सेवा सञ्चालन गर्ने गरी छलफल गरिने बताईएको छ । डिजेलबाट चल्ने बसले वातावरणमा प्रभाव पार्ने र कैलाली कञ्चनपुरमा विद्युतको सहज पहुँच समेत भएका कारण विद्युतीय बस सञ्चालनमा सहज हुने विश्वास सरकारको छ । 

बजेटमा पनि यो आर्थिक वर्षमा प्रदेश बस सञ्चालन गर्ने उल्लेख गरिएका कारण दुई जिल्लामा भएपनि बस सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार जुटेको हो । त्यसका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत अन्य मन्त्रीहरुले पनि प्रदेश बस सञ्चालनका लागि बेला बेलामा चासो दिने गरेको बताईएको छ । 

कैलाली कञ्चनपुरमा विद्युतिय बस सेवा प्रभावकारी रहेमा त्यसलाई पहाडी क्षेत्र सम्म विस्तार गर्ने गरी छलफल गरिनेछ ।

निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने सरकारले बजेमा उल्लेख गरेको थियो । तर, घोषणा गरेको छ महिनासम्म उक्त विषय कार्यान्वयमा लिन नसक्दा प्रदेश बस सञ्चालनबारे विभिन्न आशका उब्जिएका छन । 

त्यसैले प्रदेश बस सञ्चालनबारे थाल्ने भनिएको छलफललाई तिव्रता दिदै चाडो प्रदेश बस सञ्चालन गर्ने प्रक्रियालाई कार्यान्वयनमा लैजान प्रदेशबासिको सुझाव छ ।