भैरहवाको कीर्तिमानी जित, रविइन्दरले बनाए ईपीएलमा पहिलो शतक

भैरहवाको कीर्तिमानी जित, रविइन्दरले बनाए ईपीएलमा पहिलो शतक

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजमाथि कीर्तिमानी जित निकालेको छ ।

भैरहवाले पोखरालाई ४ विकेटले पराजित गरेको हो । २१६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले २ बल बाँकी छँदा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।


सुरुवातमै महत्वपूर्ण तीन विकेट गुमाएको भैरहवाका लागि रविइन्दर सिंहले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले शतक मात्रै बनाएनन्, आफ्नो टिमलाई जित पनि दिलाए । उनले अविजित १२५ रन बनाए । ६० बलको सामना गरेका उनले १० छक्का र आठ चौका प्रहार गरे ।

त्यस्तै, आरिफ शेखले २३ रन बनाए । त्यस्तै, पुनित मेहराले अविजित १८ रन बनाए । बलिङतर्फ भने सुशन भारी, विक्रम सोव र पाउल कौगलिनले समान २-२ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१५ रन बनाएको थियो । २१६ रनको लक्ष्य ईपीएलकै इतिहासमा सबै भन्दा ठूलो स्कोर हो । अहिलेसम्म ईपीएलको इतिहासमा २०० रनसम्मको स्कोर पनि बनेको थिएन । कीर्तिमानी लक्ष्य बनेको खेलमा भैरहवाले लक्ष्य भेट्टाउँदै कीर्तिमानी जित निकालेको हो ।

पोखराका लागि रिचार्ड लेवीले उत्कृष्ट सुरुवात गर्दै ७९ रन बनाएका थिए । विस्फोटक ब्याटिङ गर्ने क्रममा उनले ३६ बलमा सात छक्का र सात चौका प्रहार गरेका थिए ।
पहिलो विकेटका लागि लेवीले कायल कोएट्जरसँग मिलेर १०४ रनको साझेदारी गरेका थिए । त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनील धमलाले कोएट्जरसँग मिलेर ७२ रनको साझेदारी गरे ।

कप्तान कोएट्जर अर्धशतक बनाउनबाट तीन रनले चुके । उनले ४७ रन बनाएर आउट भए । ३७ बलको सामना गरेका कप्तान कोएट्जरले चार चौका र दुई छक्का प्रहार गरेका थिए । यता, धमलाले २३ बलमा दुई छक्का र एक चौका प्रहार गर्दै ३८ रन बनाएर आउट भए । त्यस्तै, पाउल कौगलिनले अविजित २० रन बनाए ।

पहिलो शतक

जारी ईपीएलमा पहिलो शतक बनाउने खेलाडी बनेका छन् रविइन्दर सिंह । उनले विष्फोटक ब्याटिङ गर्दै ४७ बलमा शतक बनाए । शतक रन बनाउने क्रममा उनले नौ छक्का र ६ चौका प्रहार गरेका थिए ।

उनले अविजित १२५ रन बनाउने क्रममा १० छक्का र आठ चौका प्रहार गरे । उनकै विस्फोटक ब्याटिङमा भैरहवाले नाटकीय जित निकालेको हो ।