म डडेल्धुरामा, आरजु कैलालीमा उठेपछि जनताले के भोट दिइरहन्थे र?

म डडेल्धुरामा, आरजु कैलालीमा उठेपछि जनताले के भोट दिइरहन्थे र?

नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत सालको निर्वाचनमा पार्टी हार्नुको मुख्य कारण टिकट वितरणमा भएको कमजोरी रहेको निष्कर्ष निकालेका छन्।

पार्टी विधानमाथि सदस्यहरूले धारणा राख्न ९ दिन चलेको केन्द्रीय समिति बैठकको अन्तिम दिन शनिबार देउवाले टिकट वितरणमा कमजोरी भएको भन्दै आत्मआलोचना गरे।

‘म डडेल्धुरामा, आरजु कैलालीमा। नुवाकोटमा केसी दाजुभाइ नै उठ्नु पर्ने, अनि जनताले के भोट दिन्थे र१,’ पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा देउवाले भने। गत चुनावमा देउवा डडेल्धुराबाट विजयी भए पनि उनकी पत्नी आरजु देउवा राणा कैलाली ५ मा पराजित भएकी थिइन्।

नुवाकोट(२ मा अर्जुननरसिंह केसी र प्रदेशसभामा जगदीशनरसिंह केसीले चुनाव हारेका थिए।

चुनावी हारको समीक्षा गर्न बसेको केन्द्रीय समिति बैठक, असार पहिलो साता हेटौंडामा बसेको जिल्ला सभापतिहरूको भेलामा समेत आत्मआलोचना नगरेका देउवाले महासमिति बैठकको मुखमा पार्टी हार्नुका कारण टिकट वितरणमा कमजोरी भएकोमा आत्मआलोचना गरेका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा २३ सिटमा चित्त बुझाएको कांग्रेसले हारको समीक्षा गर्न गत चैत ९ देखि वैशाख १६ गतेसम्म केन्द्रीय समिति बैठक गरेको  थियो। हारको जिम्मेवारी केन्द्रीय समितिले लिने गरी त्यसबेला बैठक टुंग्याइएको थियो।

निर्वाचनमा पार्टीले अनपेक्षित हार बेहोरेको भन्दै नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवाज उठे पनि देउवाले ‘आफू चुनाव हार्ने मलाई दोष दिने’ भनेर प्रतिरक्षा गर्दै आएका थिए।

असोज ४ मा भरतपुरमा आयोजित एक कार्यक्रममा देउवाले ‘मान्छेहरू चुनाव जित्न सक्दैनन्, दोष मलाई दिन्छन्। के कारणले चुनाव हारें भनेर पत्तो नपाइ दोष मलाई दिनेरु यो त हद हुन्छ नि यार’ भनेका थिए।

बरिष्ठ नेता रामचन्द्र पौडेलले बारम्बार अन्तर्घातले गर्दा चुनाव हारेको बताएपछि देउवाले उनलाई जवाफ फर्काएका थिए।

यही शुक्रबारदेखि सुरू हुने महासमिति बैठकअगाडि देउवाले चतुरताका साथ आत्मआलोचना गरेको कांग्रेस नेताहरू बताउँछन्।

‘सभापति आफूलाई थप बलियो बनाउने गरी विधान बनाउन चाहनुहुन्छ। महासमिति बैठकमा पेश गर्ने विधान सर्वसहमतिमै बनाउनु पर्ने दबाब उहाँमाथि छ। किनभने विधान पारित गर्न दुईतिहाइ मत चाहिन्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘महासमिति बैठकको मुखमा आत्मआलोचना गर्नु अर्थपूर्ण छ।’

सभापति देउवा पदाधिकारी संख्या बढाउने पक्षमा छैनन्। तर केन्द्रीय समितिमा धारणा राखेका अधिकांश नेताले ८५ बाट बढाएर केन्द्रीय समिति १४१ सदस्यीय बनाउने हो भने पदाधिकारी संख्या पनि बढाउनु  पर्नेमा छन्। 

‘बरिष्ठ नेता रामचन्द्र पौडेल पदाधिकारी संख्या बढाउने पक्षमा उभिनुभएको छ। सात जना उपसभापति, सातै जना सहमहामन्त्री बनाउनुपर्ने धारणा उहाँले शनिबार बैठकमा राख्नुभएको हो,’ बैठकमा सहभागी अर्का केन्द्रीय सदस्यले भने, ‘क्रियाशील सदस्यता कायमै राख्ने, बरू थप व्यवस्थित बनाउनु पर्नेमा नेताहरुले धारणा राख्नुभयो।’

महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको विधान संशोधन तथा मस्यौदा समितिले बनाएको प्रस्तावित विधान मंसिर ९ गते केन्द्रीय समितिमा पेश गर्दा बरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतले फरक मतसहितको विधान पेश गरेका थिए। ती विधान तीन दिन पढेर पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यले नौ दिनसम्म छलफल गरे।

विधानमाथि रहेर ७७ जनाले धारणा राखे।

पदाधिकारी संख्या थप्नेरनथप्ने, सदस्यता कति किसिमको हुने, केन्द्रीय समिति कत्रो बनाउनेजस्ता विषयमा केन्द्रीय समिति विभाजित छ।बैठकमा उठेका धारणालाई आइतबार एकीकृत गरेर सोमबार केन्द्रीय समितिमा पेश गर्ने तयारी छ।

लोकतान्त्रिक फोरमबाट आएका विजयकुमार गच्छदारलाई उपभापति बनाउने राजनीतिक निर्णयलाई वैधानिकता दिन पनि कांग्रेसमा पदाधिकारी संख्या बढाउनुपर्ने दबाब छ। मंसिर २८ देखि पुस ३ सम्म रामशाहपथको यलम्वर पार्टी प्यालेसमा हुने महासमिति बैठकमा पेश गर्ने राजनीतिक, आर्थिक, सांगाठानिक प्रतिवेदनलाई अन्तिम रूप दिन आज पनि विभिन्न समिति बैठक चलिरहेको छ।  सेतोपाटी बाट