शिक्षामा लगानी बढाउन आवश्यक छ : थापा

शिक्षामा लगानी बढाउन आवश्यक छ : थापा

डोटी : सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले समृद्धिका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।

जोरायल गाउँपालिका वडा नम्बर १ मणिपुरस्थित घण्टेश्वर आधारभूत विद्यालयको शनिबारदेखि सुरु भएको स्वर्ण महोत्सव तथा पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख थापाले आफू पनि लामो समय शिक्षण पेसामा संलग्न रहेकाले शिक्षाको गुणस्तर सुधार गर्न बालबालिकामा लगानी बढाउन अभिभावकलाई आग्रह गरेका छन् ।

सभामुख थापाले शिक्षाको विकासका लागि स्थानीय तहले योजना बनाएर काम गरेमा समृद्धिको यात्रामा सहयोग पुग्ने धारणा व्यक्त गरे । समयमा ठोस प्रस्ताव आएमा दुर्गम ठाउँमा शिक्षाको विकासका लागि प्रदेश सरकारबाट पहल गर्न सकिने सभामुख थापाले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गासिंह बोहराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले शिक्षा क्षेत्रको विकासका लागि योजना बनाउन पहल भइरहेको जानकारी दिए ।

यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ डोटीका प्रमुख अनन्तकुमार पौड्यालले शिक्षा आफैंमा गुणस्तरीय कुरा भएको बताउँदै विद्यालयले आफूलाई आवश्यक पर्ने सहयोगको कार्यपरक सुधार योजना तयार गर्नुपर्ने कुरामा जोड दिए ।

एकाइ प्रमुख पौड्यालले नयाँ संघीय संरचनाअनुसार गठित स्थानीय तह नै विद्यालयको स्थापना सञ्चालन र विकासका लागि मुख्य जिम्मेवार रहेकाले विद्यालयको विकासमा स्थानीय तहमै सम्भावनाका उपाय खोजी गर्नुपर्ने बताए । विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा भएकाले स्थानीय तह र विद्यालय दुवैले यसलाई अवसरका रूपमा लिनुपर्ने सुझाव दिए ।