कोरोना संक्रमित बढेसँगै कोरोना बिमा पनि बढ्दो, हालसम्म ८ लाख ४७ हजार नेपालीले गरे कोरोना बिमा

कोरोना संक्रमित बढेसँगै कोरोना बिमा पनि बढ्दो, हालसम्म ८ लाख ४७ हजार नेपालीले गरे कोरोना बिमा

बिमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बिमा भएको बताएको छ। 

बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बिमा भएको बताए।  त्यसबापत अहिलेसम्म ४७ करोड रुपैयाँ बिमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए। बिमा समितिले वैशाख ४ गते देखि कोरोना भाइरस (कोभिड-१९) बिमालेख जारी गरेको थियो। जसमा सबै निर्जीवन बिमा कम्पनीको बिमा पुल मार्फत बिमालेख जारी गर्ने व्यवस्था भएको थियो।  समितिले दुई श्रेणीको बिमाङ्क रकम कायम गरी बिमालेख जारी गरेको थियो। जसमध्ये एक हजार रुपैयाँ बिमा शुल्क कायम भएको १ लाख बिमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बिमाङ्क रकम रहेको थियो।  जसमा पारिवारको बिमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बिमा शुल्क कायम गरिएको थियो। त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिँदा अहिले १ लाख रुपैयाँको बिमा ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँको बिमा १ सय ५० रुपैयाँमा हुन्छ।  सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बिमाङ्क रहेको बिमालेख नभई एक लाख रुपैयाँ बिमाङ्क भएको बिमालेख मात्रै विक्री भएको समितिका अध्यक्ष चापागाईंले बताए।  त्यस्तै अहिलेसम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दाबी भुक्तानी पाइसकेको पनि उनले बताए। 


त्यसबाहेक अहिले करिब २ सय ५० जनाको दाबी परेर फरफारक हुन बाँकी रहेको अध्यक्ष चापागाईंले बताए। अहिलेको कोरोना बिमालेख एकपटकका लागि मात्रै भएको पनि अध्यक्ष चापागाईंले स्पस्ट पारेका छन्। एकपटक दावी भुक्तानी भएका व्यक्तिले कोरोना निको भएपछि फेरी कोरोना बिमा गर्न सक्ने व्यवस्था अहिले नरहेको उनले बताए।  तर त्यस्ता व्यक्तिबाट बिमालेखको माग हुन आएमा समितिको सञ्चालक समितिको बैठक बसेर मापदण्डमा परिमार्जन गरी बिमा गर्न दिने व्यवस्था गर्न सकिने पनि उनले बताए। एकपटक संक्रमण भई निको भएका व्यक्तिमा फेरी संक्रमण देखा पर्दैन भन्ने मान्यता अनुरुप कोरोना बिमाको मापदण्ड बनाइएकाले दावी भुक्तानी लिएपछि संक्रमण निको भएमा पुनः बिमा गर्न नसकिने उनले स्पस्ट पारे। अहिलेको व्यवस्था अनुसार बिमा कम्पनीलाई कोरोना बिमाको कुनै पनि दायित्व नपर्ने पनि अध्यक्ष चापागाईंले बताए। उहाँले बिमा कम्पनीहरुले १ अर्ब रुपैयाँसम्म दायित्व लिनुपर्नेमा अहिले नेपाल सरकारले सबै कर्मचारीको बिमा गर्दा एक अर्ब प्रिमियम पुग्ने भएकाले बिमा कम्पनीहरुमाथि कुनै दायित्व नपर्ने उनले बताए।  

एक अर्बभन्दा माथि साढे ३ अर्ब सम्म पुनर्बिमा कम्पनी र बिमा समितिले व्यहोर्नेपनि उनले जानकारी दिए। साढे ३ अर्ब भन्दा माथिको बिमा दावी भुक्तानी भने नेपाल सरकारले गर्नेछ। एकपटक कोरोना बिमा गरेपछि २०७८ असार मसान्तसम्म कोरोना संक्रमण पुष्टि भएमा बिमाङ्क रकम दावी गर्न पाइनेछ।