बाजुराका स्थानीय तहमा कर्मचारी अभाव

बाजुराका स्थानीय तहमा कर्मचारी अभाव

बाजुरा : सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् ।  

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा सचिव तहका कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् । 

तीन तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि स्थानीय तहले कर्मचारी नपाउँदा जनताले दुई दिन पैदल हिँडेर सेवा लिनुपरेको बाजुराको त्रिवेणी नगरपालिका–७ का गीता साउदले गुनासो गर्नुभयो । बाजुरा जिल्लाका नौ स्थानीय तहमा चार नगरपालिका र पाँच गाउँपालिका छन् । 

तीमध्ये ६९ वडाका ५५ भन्दाबढी वडामा कर्मचारी नहुँदा सचिवको कामकाज जनप्रतिनिधीले झोलामा कार्यालयका सामान बोकेर सेवा दिनु परेको त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले बताउनुभयो । 

त्रिवेणी नगरपालिकाका स्थानीयवासीलाई वडाबाट पाउने सेवा सुविधा लिन दुई दिनको पैदलयात्रा हिँडेर सेवा लिनुपर्ने बाध्यता छ । वडा कार्यालयमा खरिदार तहको कर्मचारी नहुँदा सोही नगरपालिका– १ साविकको छतारा गाविसमा गएर सेवा लिनुपर्ने समस्या रहेको छ । 

त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले वडामा सचिव नहुँदा जनताले दुई दिनको पैदल बाटो हिँडेर यहाँबाट सेवा सुविधा लिने गरेको स्वीकार गर्नुभयो । प्रदेश र सङ्घीय सरकारले स्थानीय तहमा कर्मचारी नखटाउँदा सचिव समेतको काम आफैले गर्नुपरेको अध्यक्ष थापाको भनाइ छ । 

जिल्ल्लाका नौवटै स्थानीय तहका नगरपालिका र गाउँपालिकाका गरी ६९ मध्ये ५४ वडा सचिव विहीन रहेका छन् । जिल्लाको दुर्गम क्षेत्रमा हिमाली गाउँपालिका, स्वामीकात्तिक गाउँपालिका, जगन्न्नाथ गाउँपालिकालगायतका स्थानीय तहमा भने सचिव नै नभएर वडा अध्यक्षले सचिवको काम गर्ने गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिनुभयो । 

सङ्घीय सरकार र प्रदेश सरकारले मङ्सिर मसान्तभित्र कर्मचारी स्थानीय तहमा नखटाइए आन्दोलन गर्ने त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष प्रेम थापाले जानकारी दिनुभएको छ ।