बैतडीमा भदौ २१ सम्म निषेधाज्ञा जारी

बैतडीमा भदौ २१ सम्म निषेधाज्ञा जारी

बैतडी : बैतडीमा कोरोना भाइरस जोखिम बढेको भन्दै यही भदौ २१ गते सम्म निषेधाज्ञा थपिएको छ । भदौ ८ देखि जारी गरेको निषेधाज्ञा आइतबार राती १२ बजे सकिदैछ ।

आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजीम निषेधाज्ञा जारी गरिएको उनको भनाइ छ । विभिन्न मेला, चाडपर्वहरु सुरु भएकाले भीडभाड हुन सक्ने भन्दै भदौ २१ गते सम्म निषेधाज्ञा लागू भएको हो।

कडाइपूर्वक लागू गर्ने निर्णयसहित निषेधाज्ञाको अवधि थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।