सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ८०३ पुग्यो

सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ८०३ पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा संक्रमण पुष्टि भएको हो।

यता धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना संक्रमित थएिका हुन । पछिल्लो २४ घण्टामा गरिएका ७३९ नमुनामध्ये १५ जनामा संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले तीन महिला र १२ पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।

उनले अछामको साँफेबगर नगरपालिकाका ९ जना, कैलालीको गोदावरी नगरपालिकाका ४ जना, धनगढी उपमहानगरपालिकाका एक जना र कैलाली कै स्थानीय तह नखुलेका एक जना पुरुषमा संक्रमण पुष्टि भएको बताए ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ४९ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएका ३८५ नमुनामध्ये ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार सुदूरपश्चिमका पहाडी तीन जिल्लामा मात्रै ४९ जना संक्रमित थपिएका हुन । उनले बैतडीको पाटन नगरपालिकाका १८ जना, दोगडाकेदार गाउँपालिकाका दुईजना, सुर्नया गाउँपालिकाका एकजना र दार्चुलाको महाकाली नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको बताए ।

यस्तै बझाङको दुर्गाथली गाउँपालिकाका २३ जना र केदारस्यूँ गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ८०३ पुगेको छ।