"कर्मचारी भर्ना अनिश्चतकालका लागि बन्द"- लोकसेवा

"कर्मचारी भर्ना अनिश्चतकालका लागि बन्द"- लोकसेवा

काठमाडौं । कर्मचारी समायोजनको काम नसकिएसम्म लोकसेवा आयोगको पदपूर्ति ठप्प हुने भएको छ।

मन्त्रिपरिषदको आग्रहमा २५ असोजसम्म स्थगित भएको आयोगको वार्षिक कार्यक्रम फेरि अनिश्चितकालका लागि बन्द हुने भएको हो।

कात्तिक २८ गतेको मन्त्रिपरिषदले असोजमा प्रकाशित हुनुपर्ने पदपूर्ति विज्ञापन कार्यतालिका संशोधन गरी मंसिर मसान्तमा सार्न आयोगलाई आग्रह गरेको थियो। त्यहीँदेखि आयोगका सबै कार्यक्रम स्थगित छन्।

'हामी विज्ञापनका लागि तयार नै छाैं तर हामीलार्इ माग संख्या पठाउने निकायबाट त्याे प्रक्रियासहित अाउनु पर्छ', लाेकसेवा अायाेगका प्रवक्ता किरण शर्मा भन्छन्, 'मंसिर २५ गतेसम्मका कार्यक्रम स्थगित छन्। त्यसपछिकाे विज्ञापन प्रक्रिया अघि बढाउन अायाेगलार्इ पत्र अाइसकेकाे छैन।' 

लोकसेवालाई अधिकांश मन्त्रालयहरुको कर्मचारी माग संख्या उपलब्ध गराउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म सिट संख्याबारे गृहकार्य नगरेकाे हाे। मन्त्रालयले रिक्त पदहरुको प्रतिशत निर्धारण गरी आयोगमा नपठाएसम्म विज्ञापन सार्वजनिक हुँदैन।

लोकसेवा आयोगको बार्षिक कार्यतालिकाअनुसार मंसिर मसान्तमा विज्ञापन हुने पदका लागि मन्त्रालयले ढिलोमा मंसिर १५ गतेभित्र रिक्त पदहरुको प्रतिशत निर्धारण गरी आयोगमा पठाइसक्नुपर्छ। मंसिर २१ गतेसम्म मन्त्रालयले आयोगलाई जानकारी मात्रै होइन त्यसको कुनै तयारी समेत सुरु गरेको छैन।

‘लोकसेवालाई कुन कुन पदमा कति सिट संख्या पठाउने भन्ने निर्णय हुन सकेको छैन। महाशाखाहरुले त्यसमा गृहकार्य नै गरेका छैनन्’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘मंसिर २६ पछि पनि लोकसेवाले विज्ञापन प्रकाशित गर्ने सम्भावना न्यून छ। हाम्रो पत्र लोकसेवा नपुगेसम्म आयोगले विज्ञापन गर्न मिल्दैन।’

मंसिर मसान्तसम्म विज्ञापन गरिसक्नु पर्ने पदहरुको मंसिर तेस्रो सातासम्म प्रतिशत निर्धारणको काम हुन नसकेपछि अब मंसिरमा लोकसेवा विज्ञापन नहुने निश्चित भएको हो। सहसचिव, उपसचिव, स्वास्थ्य सेवाका सातौं, आठौं, नवौं र एघारौं तहका पद तथा प्राविधिक अधिकृत तहको पदपूर्ति पछि सर्दै गएकोमा अब अन्य पदको पनि पदपूर्ति पछि धकेलिएको हो।

समायोजनपछि मात्रै विज्ञापन
अायाेगकाे कार्यतालिकाअनुसार असोज मसान्तमा प्राविधिक र अप्राविधिक तर्फका सहसचिव, उपसचिव, अधिकृत पदहरुको असोज मसान्तमा विज्ञापन हुनुपर्थ्याे। कार्यतालिका संशोधन भएसँगै त्याे मंसिरका लागि सराएको थियो।

अब विभिन्न सेवाका प्रथम, द्वितिय र तृतीय राजपत्रांकित प्राविधिक र अप्राविधिक पदहरु, स्वास्थ्य सेवाका एघारौं र नवौं, आठौं तहका पदहरु, विभिन्न सेवाका राजपत्रअनंकित प्रथम र द्वितिय सेवाका पदहरु, स्वास्थ्य सेवाका चौथो तह, टाइपिष्ट लगायतका निजामती सेवा तर्फ खुल्ने सबै पदहरुको पदपूर्ति प्रक्रिया प्रभावित हुने भएको हाे।

प्रवक्ता अधिकारी कर्मचारी समायोजनपछि मात्रै लोकसेवा पदपूर्ति सुरु हुनसक्ने बताउँछन्। ‘निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि अहिले समायोजन अध्यादेश जारी गर्ने प्रक्रिया चलिरहेको छ। त्यो सकिएर कर्मचारी समायोजन नभएसम्म कहाँ कति कर्मचारी आवश्यक पर्छन् भन्न सकिने अवस्था हुँदैन’, उनले भने, ‘त्यसकारण कर्मचारी समायोजन सकिएपछि जहाँ जति कर्मचारी आवश्यक पर्छन् सोही अनुसार पदपूर्ति प्रक्रिया अघि बढ्छ।’

कहिले सकिन्छ समायोजन?
मन्त्रालयले दुई वा तीन महिनाभित्र समायोजन प्रक्रिया सम्पन्न गर्ने बताउँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पुस भित्रै कर्मचारी समायोजन गरिसक्ने सरकारको लक्ष्य भए पनि बढीमा तीन महिनासम्म लाग्न सक्ने बताउँछन्।

‘समायोजन पूरा गर्ने लक्ष्य त हामीले पुससम्मको राखेका छौं। अध्यादेश प्रक्रियामा भएको केही ढिलाइ समेत गणना गर्दा त्यो तीन महिनासम्म जान सक्छ,’  उनले भने, ‘अब अध्यादेश जारी हुनासाथ समायोजनको काम तीब्र गतिमा अघि बढछ्। जतिसक्दो छिटै प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेर पठाउँछौं।’