सासंद विकास कोषको रकमले बन्दै बैतडीका एक दर्जन सडक

सासंद विकास कोषको रकमले बन्दै बैतडीका एक दर्जन सडक

बैतडी : सासंद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन्।  ४ करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै बाह्र सडक संजालले जोडिने भएका हुन्।

भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको १० वटै स्थानीय तहमा सडक निर्माण हुने भएका हुन्। चार करोडमध्ये करिब तीन करोड सडकमै छुट्याइएको छ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका संयोजक तथा प्रतिनिधि सभा सदस्य एव‌ं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले सासंद विकास कोषबाट बैतडी जिल्लाका झण्डै १२ वटा सडक निर्माण गर्ने निर्णय गरेका छन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि नियमावली २०७५ र समावेशीका आधारमा विभिन्न स्थानीय तहका प्रमुखहरुसँग परामर्श र छलफल गरी योजना निर्माण गर्न लागिएको योजना छनौट समितिका सदस्य एवम् प्रदेश सभा सांसद लीलाधर भट्टले बताए।

 सांसद विकास कोषबाट दोगडाकेदारको खोचलेक–सित्तड–रीम सडकलाई ५० लाख, सुर्नयाको ढोल्यामोड–शिखरपुर वडा कार्यालयसम्म सडकलाई ५० लाख, मेलौलीको सुर्नयाखोला लघु जलविद्युत योजनालाई २५ लाख छुट्याएको छ।

यस्तै चुच्चाई खोल्सी–सुकेली सडक पानपालाई २० लाख, दुर्गा मावि खलिगाड, मेलौली भवन निर्माणलाई १० लाख, वृन्दावन–बसेरा सडक, सिगासलाई १५ लाख, चडेपानी सिँचाइ योजना, सिगासलाई १० लाख, शारदा मावि भौतिक सुधार, सिगासलाई १० लाख, पसेरा खेलमैदान रिंगरोड सडक, डिलासैनीलाई ३८ लाख, गढीखेल मैदान दनपा ४ लाई ११ लाख, मदन मण्डारी स्मृति भवन पानपालाई १० लाख, भरतपुर खेलमैदान पानपालाई १० लाख, डैसिली–लदौली सडकखण्ड पानपालाई १० लाख रकम छुट्याएको छ ।

चौमला–विजयपुर र हाट महादेवस्थान सडक पुर्चौडीलाई २९ लाख, कौलाडिगाड चौकाडी तटबन्द निर्माण पुनपालाई १२ लाख, दन्नी देवहडा सडक र स्वलपाला शर्माली सडक शिवनाथलाई ३० लाख, सिन्केलेक पितलथला सडक दनपालाई १० लाख, गुरुखोला कलौनी श्रीकोट र देहिमाण्डौं नयाँबजार–कुमालीगाड–दुर्गास्थान सलेना सडक दनपालाई २० लाख, गिरेगाडा–तालीगडा–मेलौली सडक पञ्चेश्वरलाई १५ लाख र गापा कार्यालय रोडिदेवल जोड्ने सडक पञ्चेश्वरलाई १५ लाख बराबरका २० योजना स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले छनोट गरेका छन्।

उक्त कार्यक्रमबाट हरेक स्थानीय तहका लागि कम्तीमा पनि ३० लाखसम्म छुट्याइएको बताइएको छ।  प्रतिनिधिसभा सांसदका साथै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सांसद, जिल्ला समन्वय समिति प्रमुख तथा उप–प्रमुख र हरेक स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू सम्मिलित समितिले उक्त रकम बाँडफाँड गरेको हो।

सांसद विकास कोषको रकमले सडकलाई प्राथमिकता दिएकोले बैतडीका सबै स्थानीय तहका वडाहरूमा सडक पुग्ने भएका छन्।  विकासको मेरुदण्डका रूपमा सडक रहेकोले सडकलाई नै मुख्य प्राथमिकतामा परेको प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीको भनाइ छ।

 बैतडीका ८४ वटैवडामा सडक पुग्न बाँकी छ उनले भने, ‘गाउँ गाउँमा सडक पुग्ने उद्देश्यका साथ प्राथमिकतामा राखिएको छ, सडक सञ्जाल पुगेपछि विकास गर्न पनि सहज हुनेछ।’ साभार ः थाहाखबर