निर्मला हत्याकाण्डः संलग्नताको आशंकामा काठमाडौंबाट एकजना पक्राउ

निर्मला हत्याकाण्डः संलग्नताको आशंकामा काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं : कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संग्लनताको आरोपमा एकजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय एक युवकलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

पक्राउ पर्ने युवकको नाम गोप्य राखिएको छ । उनको परिवारका सदस्यले ती युवा भारत गएको बताएका थिए । तर उनी मंगलबार साँझ काठमाडौंबाट पक्राउ परेका हुन् । स्रोतका अनुसार पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।

उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताइएको छ । 

कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘‘काठमाडौंको कुरा मलाई जानकारी छैन । हामी घटनाको अनुसन्धानमा भने जुटिरहेका छौं,” एसपी कडायतले भने,

“हामीले दैनिक रुपमा शंकास्पद व्याक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन् ।”

प्रहरी अनुसन्धानमा स्थानीय र आफन्तकै सहयोग कम भएको अनुसन्धानमा संग्लन अधिकारीको गुनासो छ । कञ्चनपुर प्रहरीले यसअघि गत भदौ ४ गते निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तनगर–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वावसँग’ मेल नखाएपछि उनी थुनामुक्त भएका थिए । पुष्टि नभएकाले प्रहरीले मंगलबार पक्राउ परेका युवकको बारेमा बताउन नखोजेको स्रोतले बतायो । 

निर्मला हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय चक्र बडुलाई पनि पक्राउ गरेको थियो । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मला हत्याको अनुसन्धानमा प्रहरीको टोली सक्रिय छ । तर निष्कर्षमा पुगिहाल्ने र अपराधी किटान गर्ने अवस्थामा भने प्रहरी पुगिनसकेको प्रहरी स्रोत बताउँछ । साभार : बाह्रखरी