उपभोग घट्दा दूध निर्यात हुँदै

उपभोग घट्दा दूध निर्यात हुँदै

धनगढी : दूधको उत्पादन बढ्ने मौसम हिउँदमा उपभोग घट्दा सुदूरपश्चिम प्रदेशको दूध निर्यात हुन थालेको छ । सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर संगै पहाडी जिल्ला डडेल्धुरामा संकलन हुने दूध यहाँको बजारमा खपत नभएपछि चितवन र भारत तर्फ निकासी भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाको तुलनामा ब्यवसायिक रुपमा दूध उत्पादन हुने यी तीन जिल्लामा संकलन हुने दूधको ठूलो हिस्सा निर्यात भइरहेको छ । दूधका लागि पालिने गाई र भैसीहरुको प्रजनन चक्रका कारण हिउँदे समयमा बढी दूध उत्पादन हुने गर्छ ।

तर यो बेला जाडोका कारण दूधबाट बन्ने परिकारहरुको उपभोग घट्ने भएका कारण दूध निर्यात गर्नुपर्ने अवस्थामा पुगेको डेरी ब्यवसायीहरुले बताएका छन् ।  

सुदूरपश्चिम प्रदेशको अवस्था हेर्दा अधिकांश दूधालु पशुहरु हिउँदको समयमा ब्याउँछन् । साउन देखि पुष महिनामा अधिकांश ब्याउने भएका कारण हिउँदमा दूधको उत्पादन बढेको सुदूरपश्चिम प्रदेशको पशु सेवा निर्देशनालयका निर्देशक डा. मदनसिंह धामीले बताए । 

जाडोका कारण यो मौसममा दूधजन्य परिकारहरुको उपभोग घट्ने तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने दूधको ठूलो खरीदकर्ता नेपाल दुग्ध विकास संस्थानको अत्तरिया आयोजना कार्यालयले अचेल हरेक तेस्रो दिन चार हजार पाँच सय लिटर दूध चितवन पठाइरहेको छ ।

जब कि गर्मीयाममा यो चितवन पठाइने दूधको परिमाण यो भन्दा आधार मात्रै छ । हिउँदमा संस्थानले यस प्रदेशमा दैनिक पाँच लिटर दूध मात्र खपत हुने गरेको जनाएको छ । 

गर्मी मौसममा दूधबाट बन्ने परिकारहरुको बिक्री बढी हुने भएकोले निकासी गर्ने दरमा कमी आउने संस्थानको अत्तरिया आयोजनाका प्रमुख गोबिन्द लेखक बताउँछन् । गर्मीमा दूध संगै दही, मही, पनीर र आइसक्रिम समेत बिक्री हुने गर्छ ।

तर हिउँदको समयमा दूध र पनीर बाहेक अन्य परिकारको बिक्री एकदमै थोरै हुने गरेकोले दूधको बैकल्पिक ब्यवस्थापन गर्नका लागि निकासी गर्नुपरेको लेखकले बताए । संस्थानले चितवन मिल्क लिमिटेडलाई पाउडर दूध बनाउनका लागि आपुर्ति गर्ने गरेको छ । 

दुग्ध विकास संस्थानपछि ठूलो मात्रामा दूध खरीद गर्ने निजी क्षेत्रको डेरी उद्योग खप्तड डेरी इण्ड्रस्ट्रिजले गत बर्ष सम्म हिउँदमा संकलित दूध खपत नभएपछि क्रिम निकालेर बाँकी दूध नष्ट गर्ने गरेको जनाएको छ ।

तर चितवन मिल्क लिमिटेडलाई संस्थानले दूध आपुर्ति गर्न थालेपछि हिउँदमा आफुहरुले दूध कम किन्ने गरेको खप्तड डेरीका सञ्चालक सदस्य भूपेन्द्र थापा बताउँछन् । गत बर्ष आफ्नो डेरी हिउँदे मौसममा ३५ हजार लिटर दूध नष्ट गरेको उनले जानकारी दिए । 

सुदूरपश्चिम प्रदेशमा रहेका ५२ वटा डेरी उद्योगहरुले संकलन गर्ने दूध जाडो बढेसंगै उपभोग घटेपछि भारत तर्फ समेत निकासी हुन थालेको छ । कञ्चनपुर जिल्लाको महाकाली पारीको क्षेत्र महाकाली नगरपालिकाको दोधाराबाट एक सहकारी संस्थाले दैनिक पाँच लिटर दूध नजिकै रहेको भारतीय बजार खटिमा निकासी गरिरहेको छ ।

खटिमाको आँचल डेरीले त्यो दूध खरीद गरिरहेको डेरी एसोसिएसनका केन्द्रीय सदस्य समेत रहेका थापाले बताए । पहाडी जिल्लाहरुमा संकलन हुने दूध भने स्थानीय स्तरमै खपत हुने गर्छ । 

पाउडर दूध बनाउने उद्योग नहुँदा दूध बाहिर निर्यात गर्नुपरिरहेको र त्यो अत्यन्तै खर्चिलो रहेको ब्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार सुदुर पश्चिम प्रदेशमा दूध प्रशोधन गरी पाउडर बनाउने उद्योग खोल्नेतर्फ प्रदेश सरकारको ध्यान जानु आवश्यक छ ।